• Tuesday 6th of October 2026

सोमबारदेखि बस टिकटको अग्रिम बुकिङ खुला, अनलाइनबाटै टिकट काट्न मिल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं। यातायात व्यवसायी दसैंका लागि सोमबारदेखि बस टिकटको अग्रिम बुकिङ खोल्न सहमत भएका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा भएको छलफलमा असोज २२ गतेदेखि बसको अग्रिम टिकट खोल्ने सहमति भएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सरकारको प्रतिवद्धतासँगै अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको जानकारी दिए।

‘हाम्रो माग भन्दा पनि केही प्रतिवद्धता मात्रै खोजेका थियौं। मन्त्रीज्यूले प्रतिवद्धता जनाएपछि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले सडकको अवस्था लगायतका विषयमा कुरा राखेका छौं।’

मन्त्रालयमा शुक्रबार भएको सहमति अनुसार नयाँ बसपार्क लगायत क्षेत्रबाट सोमबार अग्रिम टिकट बुकिङ सुरु हुनेछ। यसबाहेक अनलाइनबाट पनि सोमबारदेखि टिकट काट्न सकिनेछ। बससेवा डटकमको एपबाट अग्रिम बुकिङ खुला भएको दिनबाटै टिकट काट्न सकिने जनाइएको छ।

रोजगारी‚ शिक्षा र विभिन्‍न कारणले टाढा पुगेकाहरु दसैंमा गाउँघर फर्कन्छन्। काठमाडौंमा विभिन्‍न जिल्ला जान बस टिकटको अग्रिम बुकिङ खुल्छ। दसैं मान्‍न १५ लाख भन्दा बढी उपत्यकाबाट बाहिरिने गरेका छन्। जसका कारण उपत्यका सुनसान जस्तै हुने गरेको छ।

शुक्रबारको छलफलमा सडक विभाग र यातायात व्यवस्था विभागका अधिकारी तथा प्रहरी अधिकृत पनि सहभागी थिए। वर्षामा बाढीपहिरोले बिगारेका सडक मर्मतदेखि सार्वजनिक सेवाका बसलाई रुट सहजीकरण‚ सुरक्षा हुनुपर्ने व्यवसायीको माग थियो।

स्वाँरले व्यवस्थित र सुरक्षित हिसाबले यात्रुलाई घरघर पुर्‍याउने जिम्मेवारी वहन गर्न व्यवसायी तयार रहेको बताउँदै व्यापार भन्दा सेवालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए।

लाइन हुँदैछ कम

दसैंका लागि अग्रिम टिकट काट्न बसपार्कमा रातीदेखि नै लाइन बस्नुपर्ने बाध्यता पछिल्लो समय कम हुँदै गएको छ।

अग्रिम टिकट खुल्ने अघिल्लो दिन नै टिकट काट्ने स्थान नयाँ बसपार्क, गौशाला,चावहिल, कोटेश्वर, कलंकी, सुन्धारा लगायतका स्थानमा मध्यरातनै यात्रु लाइनमा बस्ने गर्थे। अनलाइनबाटै टिकट काट्न सकिने भएकाले लाइनमा बस्नुपर्ने बाध्यता कम भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖