• Tuesday 6th of October 2026

यसरी मालपोत कार्यालयमा गरियो सुटुक्क कर्मचारी भर्ना


  • धनकुटा खबर
  • .

धनगढीः मालपोत कार्यालय धनगढीले सूचना सार्वजनिक नगरेर सुटुक्क कर्मचारी भर्ना गरेको खुलेको छ।

मालपोत कार्यालय स्रोतका अनुसार एक हप्ता अगाडी मात्र बिना सूचना कार्यालय सहयोगीमा कमला चौधरीलाई काममा लगाइएको हो। कार्यालय सहयोगीको मृत्युपछि खाली रहेको ठाउँमा सूचनासमेत सार्वजनिक नगरेर चौधरीलाई भर्ना गरिएको हो। मालपोत कार्यालय धनगढीका प्रमुख प्रेमबहादुर दौल्यालले भने कुनै पनि कर्मचारी भर्ना नगरिएको दाबी गरेका छन्।

तर, मालपोत कार्यालय स्रोतका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको निर्देशनमा कमलालाई कार्यालय सहयोगीमा भर्ना गरिएको हो। एक हप्तादेखि चौधरी मालपोत कार्यालय, धनगढीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी छन्। स्रोतका अनुसार त्यहाँ कार्यरत कर्मचारीलाई समेत सरुवा गर्ने चलखेल भइरहेको छ।

साथै मालपोत आइपुगेका सेवाग्राहीले समेत समयमा सेवा पाउन निकै समस्या हुने गरेको गुनासो गरेका छन्। कार्यालयले कहिले बत्ती नभएको बहानामा त कहिले सम्वन्धित फाँटमै कर्मचारी नबस्ने गरेका कारण सेवाग्राहीले अनावश्यक दुःख पाउने गरेका छन्। सबैभन्दा बढी सेवाग्राहीको भिड हुने मालापोत कार्यालयमा बत्ती जाँदा कुनै वैकल्पिक व्यवस्था समेत गरिएको छैन्।

लेखापढी गर्ने स्थान तथा सेवाग्राहीले प्रतिक्षा गर्ने स्थानमा पंखा जोडिएको भए पनि अधिकांश पंखा विग्रीएका छन्। साथै मालपोत कार्यालयमा कर्मचारी समेत समयमा नआउने गरेको सेवाग्राहीको गुनासो छ। स–सानो कामका लागि पनि घण्टौसम्म अल्झाउने गरेको उनीहरुको गुनासो छ।
-दिनेश खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖