• Tuesday 6th of October 2026

भकारीभित्र शव भेटिएकी गणेशीको हत्या भएको प्रहरीको निष्कर्ष


  • धनकुटा खबर
  • .

भकारीभित्र मृत भेटिएकी गणेशी रोकाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।

सल्यानको शिद्धकुमाख गाउँपालिका– ४ खार्बाङकी २८ वर्षीया गणेशीको शव असोज १७ गते अन्न राख्ने काठको भकारीभित्र सडेको अवस्थामा फेला परेको थियो। उनी असोज १५ गतेदेखि बेपत्ता रहेको परिवारको दाबी थियो।

सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले गणेशीको हत्या भएकोमा कुनै शंका नरहेको बताए।

‘उहाँको हत्या भएकोमा कुनै आशंका छैन,’ डिएसपी कार्कीले भने, ‘हामीले घरपरिवारकै केहीलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेका छौं।’

अनुसन्धान पूरा भएपछि एक-दुई दिनभित्रै घटनाबारे पत्रकार सम्मेलन गरी तथ्य सार्वजनिक गरिने कार्कीले बताए।

‘घरपरिवारकै सदस्यबाट हत्या भएको भन्नेमा पनि आशंका छैन,’ डिएसपी कार्कीले भने, ‘तर कसले किन उनको हत्या गरेको हो भन्ने पत्ता लगाउन अनुसन्धान जारी छ।’

गणेशी दुई दिनदेखि बेपत्ता रहेको भन्ने परिवारका सदस्यबाट खबर गरिएको थियो। त्यसको दुई दिनपछि स्थानीयले गणेशकी घरमा केही वस्तु कुहिएको जस्तो गन्ध आएको सूचना प्रहरीलाई दिएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा गणेशीको शव भकारीभित्र फेला पारेको थियो।
प्रहरीका अनुसार परिवारका सदस्यले गणेशीले अन्नबालीमा हाल्ने कुनै बिषादी खाएर आत्महत्या गरेको हुन सक्ने बयान दिएका छन्। तर अनुसन्धान क्रममा त्यस्तो नदेखिएको र घटना शंकास्पद देखिएको थियो।

त्यसपछि प्रहरीले थप अनुसन्धान गर्दा उनको हत्या भएको निष्कर्ष निकालेको हो।

मृतक गणेशीका श्रीमान कामको सिलसिलामा भारतमा थिए। श्रीमती बेपत्ता भएको खबर पाएपछि उनी घर फर्केका छन्।
गणेशीका तीन छोरा र एक छोरी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖