• Tuesday 6th of October 2026

बुबाको श्राद्ध गर्नका लागि निस्किएका डम्मर पोखरा पुग्नै पाएनन्..


  • धनकुटा खबर
  • .

पर्वत : जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा छैटौँ दिनसम्म पनि बेपत्ता नै रहेका छन् ।

गत असोज १३ साँझ बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत तमादी खोलामा रोकिएको बेलामा अचानक आएको बाढीले बगाएको थियो । उक्त जिपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ वर्षीय गोपाल बस्याल र कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का विजय भनिने २७ वर्षीय माधव पौडेल पनि सवार थिए । बस्यालको शव शनिबार राति नै जिप बगेको केही तल तमादी खोलामा नै भेटिएको थियो भने पौडेलको शव गत असोज १६ गते बेपत्ता भएको चौथो दिनमा स्याङ्जाको गल्याङ नगरपालिकामा पर्ने मिर्मीस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा भेटिएको थियो ।

पोखरा पुगेर बुबाको श्राद्ध गर्नका लागि घरबाट निस्किएका डम्मर पोखरा पुग्नै पाएनन् । १५ वर्षे शिक्षण पेसाबाट अवकाश लिएका थापा गाउँमै अलैँची खेतीमा गर्दै आएका थिए । उनी गाउँमै बस्दै आए पनि उनको दाजु भने पोखराको औद्योगिक बस्दै आएका छन् ।

पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यको थापाको खोजीका लागि सुरक्षाकर्मीसहित उनका आफन्तहरू निरन्तर खट्दै आएको भए पनि उनको बारेमा कुनै सुराक फेला नपरेका बताए । घटना भएकै दिनदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेर खोजी गरिरहेको भए पनि थापा फेला परेका छैनन् । घटना भएको तमादी खोला, उक्त खोला मिसिने मोदी खोला र मोदी मिसिने कालीगण्डकी नदीका सम्भावित सबै ठाउँहरूमा खोजी कार्य जारी रहेको प्रजिअ आचार्यले बताए ।

‘हामीले खोजीका लागि कुनै कसर बाँकी राखेका छैनौँ । घटना भएकै दिनको साँझदेखि सुरक्षाकर्मी, सर्वसाधारण र पीडितका आफन्तहरूले खोलाका तिरसहित तमादी खोलाको लेदोमा खोजी गरिरहनुभएको छ’, उनले भने, ‘कास्कीका माधव जी को शव मिर्मीमा भेटिएपछि बाढीले बगाएर त्यहाँसम्म लगेको हुन सक्ने भएकाले मोदी र नदी किनारमा रहेका गाउँका नागरिकहरूलाई पनि नदीमा ध्यान दिन भनिएको छ ।’

शनिवार साँझ बाटो पार गर्ने क्रममा लेदोमा जिप फसेपछि चालक वसन्तबहादुर थापा जिपबाट ओर्लिएर ‘टायर’ मा लागेको अवरोध हटाउन पुगे । त्यही बेलामा बाढी आएपछि थापाले ज्यान बचाउन सके तर जिपभित्रै रहेका तीन जना यात्रु भने जिपसँगै बगेका थिए । खोजीका क्रममा जिपका केही भागहरू क्षतविक्षत अवस्थामा तमादी खोलाकै ढुङ्गा, लेदो र गेगरमा पुरिएको अवस्थामा भेटिएका थिए ।

यसअघि २०७८ सालको असार २२ गते साँझमा तमादी खोलापछि आउने दोबिल्लामा रहेको सुन्दरे खोलामा यसै गरी आएको बाढीले मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित तीन जनालाई गाडीसहित बगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖