• Tuesday 6th of October 2026

‘इजरायलको बंकरभित्र २४ घन्टादेखि पानीमात्र खाएर बसिरहेका छौं’


  • धनकुटा खबर
  • .

लुइस रिजाल। शनिबार बिहान। त्यस्तै साँढे पाँच बजेको हुनुपर्छ। पूरा उज्यालो भइसकेको थिएन। हामी बसेको ठाउँ (सेदोत नेगेभ) को आकाशमा रकेटको आवाज सुनियो। हुन त इजरायली नागरिकका लागि रकेटको आवाज नौलो होइन। उनीहरूको हुर्काइ नै रकेटसँग भएको हुन्छ। रकेटको आवाज उनीहरूलाई खासै नौलो लाग्दैन पनि।

आकाशमा रकेटका आवाज सुनेपछि म उठेर बाहिर आएँ। आकाशमा धुँवाको मुस्लो छुटाउँदै रकेट आइरहेका थिए। रमाइलो लागेर भिडिओ पनि खिचें।

प्यालेस्टानका तर्फबाट युद्ध लडिरहेका हमासहरूले प्रहार गरेको रकेट इजरायली आकाशमै निस्तेज हुन्छ भन्ने सुनेका थियौं। सेनाले निष्क्रिय तुल्याएछन् भनेर म कोठाभित्रै पसें।

केहीबेरमा साथी विपिन जोशीले रूँदै फोन गर्‍यो। ऊ निकै अताल्लिएको थियो। बोली पनि लरबरिएको थियो। यहाँ त हमासका लडाकूले रकेट प्रहार गरे भन्यो। हाम्रा साथीहरू सबै घाइते छन् भन्दै रूँदै सुनाइरहेका थियो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भनेर उसले मद्दतका लागि फोन गरेको रहेछ।

त्यसपछि हाम्रो पनि होसहवास उड्यो। हमास इजरायल भूमिमै प्रवेश गरेर आक्रमण गर्न थालेको सुनेपछि अब बाँचिदैन होला भनेर हतारहतार बंकरभित्र लुक्न गयौं। यहाँ बंकर सबैतिर हुन्छ। हमासले कतिबेला आक्रमण गर्छन् त्यसको कुनै टुंगो नहुने हुनाले बंकर अनिवार्य संस्कृति बनेको होला।

हामीलाई फोन गरेर खबर दिने साथीहरू किवुज अलुमिनमा बस्छन्। हामी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि यहाँ आएका हौं। हामी कृषि विज्ञान संकायका विद्यार्थी हौं। हामी गत भदौ २५ र २६ गते यहाँ आएका हौं।

हामीलाई फोन गरेर जानकारी दिने समूहमा १४ जना रहेका छन्। उनीहरूमध्ये ९ जना घाइते छन्। कसैलाई गोली नै लागेको, कसैलाई छर्रा लागेको भन्ने छ। उनीहरूले रूँदै गुहार मागेपछि हामीले ‘केही हुँदैन हामी प्रहरी, एम्बुलेन्सलाई खबर गर्छौं भनेर हौसला दियौं। सान्त्वना पनि दियौं।’

हामीले यहाँ रहेका गैरआवासीय नेपालहरूसँग पनि कुरा गर्छौं भनेर भनेका थियौं। एम्बुलेन्सलाई खबर गर्‍यौं। एम्बुलेन्स हिँडेपछि हामीले सम्पर्क गर्न खोज्यौं। दुर्भाग्य! कसैसँग सम्पर्क भएको छैन। घाइतेहरूलाई लिन गएको एम्बुलेन्सले उनीहरू नभेटेपछि त्यसै फर्किएछ।

एक महिनाअघि हामी इजरायल आएका हौं। हामी ४९ जना थियौं। विभिन्न समूहमा बाँडिएर बसेका थियौं। म रहेको बंकरमा ११ जना नेपाली छौं।

हिजो बिहान ७ बजे यहाँ आएका हौं। अहिले २४ घन्टा बितिसकेको छ। पानीबाहेक केही मुखमा परेको छैन। यहाँ आएकामध्ये १४ जना सम्पर्कविहीन छन्। उनीहरू कुन हालत छन् केही थाहा छैन।

हिजै अर्को फार्ममा रहेको साथीले पनि रूँदै फोन गरेको थियो। उसले दाइ बचा न मलाई त गोली नै पो लाग्यो भन्दै गुहार माग्दै थियो। पहिला फोन गर्ने साथीहरू बसेको फार्म नभेटेपछि हामीले गोली लाग्यो भनेर फोन गर्ने साथीलाई उद्धार गर्न भन्यौं। तर, एम्बुलेन्ससँग पनि सम्पर्क हुन सकेन।

यहाँ आएका ४९ जनामध्ये २ जना गम्भीर घाइते भएर उपचारका लागि लगिएको छ भन्नेसम्म जानकारी छ। उनीहरूको कहाँ उपचार भइरहेको छ, के छ केही थाहा छैन। तीन जनालाई प्रहरीले उद्धार गरेको छ भन्नेसम्म सूचना छ।

हामी रहेको बंकर युद्धग्रस्त गाजा नजिकै पर्छ। आकाशमा अहिले पनि रकेट पड्किएको आवाज मत्थर भइरहेको छैन। बाहिरको अवस्था के-कस्तो छ, बुझ्न पाएका छैनौं।

(सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमका लागि इजरायल गएका बर्दियाका रिजालसँग गरिएको कुराकानीमा आधारित।)-सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖