गत बिहीबार आफ्नै घर भित्रकाे धान राख्ने भकारीमा मृत भेटिएकी सल्यान सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेसी रोकाकाे आफ्नै बुहारीले हत्या गरेकाे तथ्य खुलेकाे छ । सासूको हत्या गरेर शव धानको भकारीमा लुकाएको आराेपमा प्रहरीले गणेसीकी कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीलाइ पक्राउ गरेकाे छ ।
सामान्य घर झगडाकाे विषयलाई लिएर बुहारी शर्मिलाले घरमा कोही नभएको मौका छोपी सासू गणेशीको दाउराले टाउकोमा हानी लडाएपछि सलले घाँटी थिचेर हत्या गरी जोगिन धानको भकारीभित्र शव लुकाएर राखेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
कसरी भएकाे थियाे घटना ?
घटना अनुसन्धानमा संलग्न जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठका अनुसार असोज १५ गते बिहान शर्मिला र उनकी सासू गणेशीबीच धान माड्न (धान चुट्न) खेतमा गएका बखत सामान्य भनाभन भएको थियो । उनिहरु सोही दिन दिउँसोमा पनि सासूबुहारी फेरि खेतमा धान माड्न गएका थिए । त्यतिखेर पनि सासूबुहारीबीच विवाद भएको थियो ।
अप्राहन्नकाे समयमा घरमा (काेठाभित्र) आएर पनि फेरि उनिहरु विवाद भयो । त्यही विवादका क्रममा शर्मिलाले बाहिर भान्सा नजिक राखेको दाउराले सासूलाई टाउकोमा प्रहार गरेकी थिइन् । उनी लडेपछि सोही दाउराले शरीरका विभिन्न भागमा आक्रमण गरेपछि गणेशी छटपटाउन थालिन् ।
गणेशी छटपटाइरहेको समयमा शर्मिलाले गणेशीकै टाउकोमा बाँधेको सल (कपडा) निकालेर घाँटीमा त्यसैले कसेर हत्या गरेको तथ्य खुल्न आएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।गणेशीको मृत्यु भएको यकिन भएपछि शर्मिलाले घरको तल्लो तलाको धान राख्न बनाइएको काठको भकारीमा शव लुकाइछिपाइ राखेकाे प्रवक्ता श्रेष्ठले बताए ।
घटनाकाे दिन घरमा काे-काे थिए ?
हत्या गरिएकी गणेशीका श्रीमान, तीन छोरा र दुई बुहारीका साथै एक छोरी पनि छन् । जेठा छाेराकाे सपरिवार सबै भारतमा बस्दै आएका छन् । माइलाे छाेराे अविवाहित छन् भने उनि दुवइमा बस्दै आएका छन् ।
घटना भएकाे दिन गणेशीका श्रीमान तेजबहादुर रोका बाहिर गाउँमा काम गर्न गएका थिए । गणेशीका कान्छा छोरा अर्थात् शर्मिलाका श्रीमान २१ वर्षीय अम्मर रोका घटना भएको दिन बिहानै मामाघरमा टिम्मुर टिप्न भनेर गएका थिए । गणेशीकी छोरी विद्यालय पढ्न गएकी थिइन् ।
प्रहरीका अनुसार गत वैशाखमा वनगाड कपिन्डे नगरपालिका–९ सेराकी शर्मिला र अम्मरले प्रेम विवाह गरेका थिए ।
हत्या गरेर लुकाइएकाे शव कसरी फेला पर्याे ?
प्रहरीकाअनुसार शर्मिलाले सासूकाे हत्यापछि अपराध लुकाउन र प्रमाण नष्ट गर्नको लागि रगत लागेको कोठाको भुइँ तला लिपपोत गरेको अनुसन्धानबाट खुलेको छ । बेलुका शर्मिलाले आफ्ना श्रीमान, नन्द र ससुरा आउँदा सासू बिहान बारीतिर गएको र फर्किएर नआएको भनेर घटना लुकाउन खोजेकी थिइन् ।
त्यसपछि गणेशी हराएकाे भनेर गाउँभरी हल्ला भयाे । तीन दिनसम्म पनि गणेसी घरमा नआएपछि असाेज १८ गते गाउँलेहरु सबै गणेसीकाे घरमा जम्मा भएर उनलाइ खाेजिकार्य गर्ने तयारी गरे ।
साेहि बेला घरमा जनावर मरेकाे जस्ताे गन्ध आएपछि केहि रहेछ भनेर सबै चासाे दिए । प्रवक्ता श्रेष्ठले लेकाली अनलाइनसँग भने, ‘मुसाे मरेकाे हाेला भनेर केहिले काेठा भित्र खाेज्न थाले । भकारीमा गन्ध आएपछि भकारी खाेल्दा त गणेसीकाे शव भेटिएछ ।’
त्यसपछि घटनाकाे बारेमा प्रहरीलाइ खबर पुग्याे । खबर पाउनासाथ घटनास्थल सुरक्षाका लागि प्रहरी चौकी ढोरचौर सल्यानबाट प्रहरी सहायक निरिक्षक मोहन चन्दको कमाण्डमा प्रहरी टोली खटियाे भने थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरिक्षक गोपाल प्रसाद श्रेष्ठको कमाण्डमा प्रहरी टाेली घटनास्थलमा पुगेकाे थियाे ।
घटना अनुसन्धानबाट बुहारी शर्मिलाले सासू गणेशीको हत्या गरेको खुलेपछि असोज १९ गते बेलुकी ६ बजेतिर प्रहरीले शर्मिलालाई नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत सल्यानले आइतबार शर्मिलालाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ ।
