• Tuesday 6th of October 2026

इजरायल हमला घाइते प्रविणले बुबालाई फोनमा भने ‘मरिन्छ कि बाँचिन्छ केही थाहा छैन’


  • धनकुटा खबर
  • .

शनिबार बिहान ११ बजेतिर इजरायलमा रहेका दाङका प्रविण डिसीले बाबुलाई फोन गरेर भनेका थिए ‘मरिन्छ कि बाँचिन्छ केही थाहा छैन।’

‘इजरायलमा बिहान ६ बजे देखि बम बिष्फोट भइरहेको छ।’ आफू बसिरहेको इजरायलको ‘अलुमिम किवुज’ भन्ने स्थानमा लगातार बम आक्रमण भएपछि अत्तालिएका प्रविणले आफूहरु माथि पनि निकै खतरा रहेको परिवारलाई फोन गरेर सुनाए।

दाङ दंगिशरण गाउँपालिका वडा नम्बर ३ हेकुलीका बाबु निमबहादुर डाँगी आत्तिए। फेरी अनलाइन मार्फत सम्पर्क गर्न खोजे। तर सम्पर्क हुन सकेन।

‘छोराले आत्तिँदै भने–आज अन्तिम हुन सक्छ भनेर भन्यो,’ बाबु निमबहादुर भन्छन् ‘बिहान ६ बजे देखिनै बमबारी भइरहेको छ भन्थ्यो, त्यसपछि उसको फोन कट्यो, यताबाट जति गर्दा पनि फोन लागेन।’

हिजो बिहान ११ बजे देखि सम्पर्क विहीन भएका छोरा प्रविणको चिन्ताले परिवार विक्षिप्त बन्दै गयो। इजरायलमा लगातार भएका बम आक्रमण र इजरायल गएका नेपाली विद्यार्थीहरु बेपत्ता भएको लगातार सञ्चार माध्यममा आइरहेका समाचारले परिवारलाई झन् चिन्तित बनाउँदै गयो। तर जति गर्दा पनि छोरा प्रवीणसँग निमबहादुरको सम्पर्क भएन। नत प्रविणका साथीहरु नै सम्पर्कमा आए।

‘छोरासँग जति गर्दा पनि सम्पर्क गर्न सकिएन,’ निमबहादुर भन्छन् ‘उसका साथीहरुलाई सम्पर्क गर्दा पनि कसैसँग पनि कुराकानी हुन सकेन।’

शनिबार बिहानै देखि सम्पर्क विहीन भएका प्रविणको आइतबार बिहान सम्म पनि अत्तोपत्ता हुन सकेन। दिउँसो पख नजिकैको मोबाइल पसलमा इजरायलबाट फोन आयो। फोन गर्ने उनै प्रविण रहेछन्। उनी सम्पर्क विहीन भएको २४ घण्टा पछि परिवारले प्रवीणसँग कुराकानी गर्न पायो।

बम आक्रमणमा परि घाइते भएका रहेछन् प्रविण। उपचाररत उनले अस्पतालबाटै आइतबार दिउँसो भिडियो कल गरे। ‘प्रविण आज (आइतबार दिउँसो) परिवारको सम्पर्कमा आए,’ दंगिशरण गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकलाल चौधरीले भने ‘कुरा हुने बेलामा म पनि संगै थिएँ।’

बम आक्रमणमा परेका प्रविणले आफ्नो दुवै खुट्टामा गाली लागेको बताएका थिए भने एउटा खुट्टा भाँचिएको समेत बताएका थिए।

‘दुई वटै खुट्टामा गोली लागेको छ र एउटा खुट्टा पनि भाँचिएको छ भनेर बाबुले फोनमा भनेका थिए,’ वडा अध्यक्ष चौधरीले भने ‘बाबुसँग धेरै बेर कुरा हुन सकेन, थोरै मात्रै कुरा भएको थियो।’

उनका अनुसार भिडियो कलमा देखिएकी अस्पतालकी नर्सले प्रविणलाई धेरै बेरा कुराकानी गर्न दिइनन् र फोन खोसिदिएकी थिइन्।

‘प्रविणले धेरै बेर कुराकानी गर्न पाएनन्,’ वडा अध्यक्ष चौधरीले भने ‘भिडियोमा देखिएकी अस्पतालकी नर्सले फोन खोसिदिएको देखिएको थियो।’

दुवै खुट्टामा गोली लागेको र एउटा खुट्टा भाँचिएका प्रविण अस्पतालमा भर्ना भएको परिवारले थाहा पायो। तर अवस्था के छ वा के हुने हो ? भन्ने पिरलोमा परिवार छ। फलतः उनलाई जति सक्यो चाँडै नेपाल ल्याइदिए हुन्थ्यो भन्नेमा परिवार छ।

‘हुन त सरकारले के नै गरेको छ र?’ बाबु निमबहादुर भन्छन् ‘जे जसरी भएपनि छोरालाई घर ल्याइदिए हुन्थ्यो।’

कृषि विश्व विद्यालय सुदूर पश्चिममा अध्ययनरत प्रविण ईजरायल गएको आगामी २६ गते एक महिना पुग्दैछ। ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत प्रविण ११ महिनाका लागि इजरायल पुगेका थिए।

‘इजरायल गएर थोरै भएपनि कमाई गर्ने र कृषि सम्बन्धी धेरै कुरा सिकेर आउला भन्ने थियो,’ बाबु निमबहादुर भन्छन् ‘झनै विपत् आई लाग्यो, छोरो चाँडै घर आइदिए हुन्थ्यो।’

अहिले पनि त्यहाँ हमास समूहले गरिरहेको आक्रमणको त्रासले प्रविणका बाबु निमबहादुरको मन डराइरहेको छ। प्रविण अस्पतालमा उपचाररत रहे पनि कति बेला के हुने हो भन्ने चिन्तामा उनको परिवार छ।-देबेन्द्र बस्नेत/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖