• Tuesday 6th of October 2026

इजरायलमा मृत्यु भएका १० जना नै बिद्यार्थी


  • धनकुटा खबर
  • .

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थी रहेको खुलेको छ।
शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो।

आक्रमणमा परेर अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ। जसमा १० जना नेपाली छन्। परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणमा परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थी हुन्।

गाजानजिकै किब्बुज भन्ने ठाउँको आलुमिम फार्ममा प्रशिक्षणका लागि १७ जना विद्यार्थी सँगै थिए। प्रशिक्षण भइरहेका बेला प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेर एक जना बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चार जना घाइते छन्, उनीहरूको उपचार भइरहेको छ। १० जनाको भने मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ।

यी विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए। एक महिनाअघि उनीहरू ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट इजरायल गएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्वदेश ल्याउने र घाइतेका लागि उपचारको व्यवस्थाका लागि पहल गरिरहेको छ।

मृत्यु भएकाहरूको शव ल्याउन जहाज तयारी अवस्थामा राखिएको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जानकारी दिएको छ।

इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेशकुमार स्वर्णकार, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको निधन भएको छ।

कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्।
सल्यानका विधान सेजुवाल, गोरखाका हिमांचल कट्टेल, दाङका प्रविण डाँगी अस्पतालमा उपचार गराइरहेका छन्।

साथै कैलालीका धनबहादुर चौधरी, कैलालीकै वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी सकुशल रहेको दूतावासले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖