• Tuesday 6th of October 2026

इजरायलबाट नेपालीको याचना- १० जना साथी गुमायौं, हामी आफूपनि गुम्छौं कि भन्ने डर छ, प्लिज सरकार हामीलाई बचाऊ


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ असोज । गत शनिबार बिहान इजरायलको प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणबाट बच्नका लागि बंकरभित्र लुकेर बसेका ५ जना नेपाली विद्यार्थीले उद्धार गरिदिन याचना गरेका छन् । विपिन सुवेदी नाम गरेका एक नेपाली युवकले एक भिडियो सन्देश जारी गर्दै आफूहरूलाई बचाउन सरकारसँग गुहार मागेका छन्।

सुवेदीले असुरक्षित बंकरबाट भिडिओ सन्देश जारी गर्दै उनले बताएअनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान संकायबाट अध्ययनका लागि इजरायल पुगेका हुन्।

उनले आफूहरू ३ दिनदेखि बसेको बंकरमा राति राति मिसाइल खस्ने गरेको उल्लेख गर्दै कुनै पनि बेला आक्रमणकारीबाट मारिने खतरा रहेकाले सक्दो चाँडो उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।

‘म विपिन सुवेदी, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट हामी आएको विद्यार्थीहरू, यहाँ हामी पाँच जना छौँ’, सुवेदीले भनेका छन्, ‘म यो भिडिओ नबनाउने स्थितिमा थिएँ, घरकालाई पीडा हुन्छ भनेर, घरकालाई तनाव हुन्छ भनेर। तर घरभन्दा माथि उठेर, अहिले हामीलाई देशले केही नगरेको अवस्थामा, हामी यो भिडिओ बनाउन विवश छौँ।’

‘हामी यहाँ पाँच जना छौँ। यो अहिले हजुरहरू देखिरहनुभएको छ- यो बंकर हो, हामी जहाँ बसिरहेका छौँ। यो बंकरमा करिब ३ दिन भयो हामी बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि एम्बेसीले हामीलाई उद्धार गर्छ कि भनेर यो लुगा लगाएर पनि, लुगा लाकोजस्तो गरेर। आश त्यति छ हामीलाई। तर हामी यहाँ रातभरि, दिउँसोमा त, अहिले बिहानको कुरा भयो। बिहान ८ बजिराछ अहिले। यो बिहान भएर हामीलाई यति धेरै बनाउन आँट आइरहेको छ।’

‘हामी जब साँझ पर्छ, रातिमा यो बंकर पनि माथि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौँ। अझै हामी पनि गुम्छौँ कि भन्ने डर छ’, सुवेदीले भिडिओमा भनेका छन्, ‘दस जना साथीको त्यो चिच्याहट, दस जना साथीले हामीलाई गरेको त्यो हारगुहार, सबै चिज हामीलाई याद आउँछ। रातभरि निद्रा लाग्दैन। हामीलाई त्यति मात्र होइन, मिसाइल हाने पनि यो बंकरमा बच्छ भनेर नेपाल सरकारले सोचिरा होला। हामी यहाँ आउने ढोका, जो अहिले हामीलाई उज्यालो आइराछ, त्यो ढोका ओपन (खुला) छ, त्यहाँ आएर टेरोरिस्ट (आतंककारी) ले साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्‍यो भने हामी पनि त्यसैगरी मर्ने१ प्लिज बिन्ती छ– हामी अब अझै कुर्न सक्दैनौँ। हामी न्युजमा सुन्छौँ– इन्डियाले एउटा टिकटक स्टारलाई होल प्लेन चार्टर गरेर इन्डिया लग्यो भनेर। हाम्रो नेपाल सरकारले हामी यत्रो विद्यार्थीलाई– हामी कृषि क्षेत्रमा केही पनि गर्न सक्दैनौँ होरु हामी ३९ जनामा १० जना त गुमाइसक्यौँ, अझै पनि जति बचेका छौँ, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नि देश फर्केर हामीले पनि केही न केही गर्थ्यौँ होला। केही न केही गर्दियोस्, हामीलाई मिटिङ भइराछ यतात्यता सुनाउनु पर्दैन। म्यासेजमा हामीले यस्तो गरिराछौँ भन्नुपर्दैन। राज्यले यो गरिराछ, त्यो गरिराछ, हजुरहरू मिटिङ गर्नुस्, चाहे जे गर्नुस्। ती दिन भयो, त्यो पनि त सोच्दिनुस्!!!!’

इजरायलमा शनिबरादेखि जारी आक्रमणबाट हालसम्मा सयौं नागरिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ । नेपालका लागि इजरायलकी राजदूत कान्ता रिजालका अनुसार उक्त आक्रमणबाट हालसम्म १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् ।

नेपाली राजदूत रिजालले दिएको जानकारी अनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेशकुमार स्वर्णकार, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको निधन भएको छ। कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖