• Wednesday 7th of October 2026

अवकाशको १८ दिनअघि अर्जुनजंग थापा सचिवमा बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्जुनजंग थापा सचिवमा बढुवा भएका छन् । सचिव रवीन्द्रनाथ श्रेष्ठ अवकाश पाएपछि रिक्त रहेको इन्जिनियरिङ सेवातर्फको सचिवमा थापा बढुवा भएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा सहसचिवका रुपमा कार्यरत अवकाशको १८ दिनअघि विशिष्ट श्रेणीमा बढुवा भएका हुन्। उनी सचिवका लागि दोस्रो नम्बरमा बढुवाका लागि सिफरिसमा परेका थिए ।

सचिवमा बढुवा भइहाले पनि थापाले लामो समय काम गर्न पाउने छैनन् । उनी आगामी कात्तिक १२ गते उमेर हदका कारणले अनिवार्य अवकाश हुनेछन् । अवकाशमा मुखमा पुगेका सहसचिवलाई पेन्सन सुविधा बढ्ने गरी सचिव बनाउने प्रचलन नै बसेको छ ।

निजामती सेवा ऐनअनुसार ५८ वर्ष पूरा भएका सचिव अनिवार्य अवकाशमा जाने व्यवस्था छ । तर, ५ वर्ष सचिवको कार्यकाल पूरा गरेमा भने ५८ वर्ष पुग्नुअघि नै अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

सचिवमा बढुवा भएर प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा हाजिर भएका थापा २० पुस २०४९मा निजामती सेवामा प्रवेश गरेका थिए । उनी सडक विभागका दोहोरिएर महानिर्देशक बनेका कर्मचारी हुन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ प्राविधिक सहसचिवको नाम सिफारिस गरेको थियो । इन्जिनियरिङतर्फको वरीयताक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख रहेका विश्वबाबु पुडासैनी पहिलो नम्बरमा सिफारिस भएका थिए ।उनी लामो समय गुणस्तर तथा नापतौल विभागका महानिर्देशक भएर काम गरेका सहसचिव हुन् ।

तेस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖