काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय युवा संघ नेपाल देशको राजनीतिक र सामाजिक परिवर्तनको अग्रणी संस्था भएको बताउनुभएको छ ।
बिहीबार झापामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटी प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थेबेले देशको सुशासन, संविधान, गणतन्त्र, स्वाधीनताको रक्षाका लागि संगठन निरन्तर लडिरहेको उहाँले बताउनुभयो । ‘यो संगठन जहिले पनि सुशासनको पक्षमा अब्बल बनाएर अघि बढिरहेको छ’, उहाँले भन्नुभयो ।
थेबेले अहिले राज्य राज्य जस्तो र सरकार सरकार जस्तो नभएको बताउनुभयो । अहिले शिक्षक, कर्मचारी, डाक्टर, मिटर ब्याज पीडित आन्दोलनमा रहँदा सरकार भने सुन तस्करहरूलाई रातो कार्पेट ओछ्याएर बसेको उहाँको टिप्पणी छ । ‘राज्यको अनुभूति हुने सरकार नहुँदा काला तस्करी बढेका छन्, माफिया तन्त्र बढेको छ’, उहाँले भन्नुभयो ।
देशमा विकृति विसङ्गतिले सीमा नाघेको थेबेको भनाई छ । अब यसका विरुद्ध राष्ट्रिय युवा संघ नेपाल लाग्ने उहाँले बताउनुभयो । ‘अब विकृति र विसंगति विरुद्ध राष्ट्रिय युवा संघ नेपाल डरलाग्दो ढङ्गले अगाडि बढ्ने छ’, थेबेले भन्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाली आम युवा र नेपाली जनताको लागि रहर लाग्ने संगठन बन्ने उहाँले दाबी गर्नुभयो । आफूलाई जीवित राख्न संगठन हरेक ठाउँमा पहिलो हुने थेबेले बताउनुभयो । ‘देशलाई आपत् विपत् पर्दा पहिलो पटक फिल्डमा पुग्छ राष्ट्रिय युवा संघ नेपाल’, उहाँले भन्नुभयो ।
देशमा अस्थिरता चाहनेहरूले नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपाल माथि प्रहार गर्ने प्रयास गरिरहेका उहाँले बताउनुभयो । ‘यदि हाम्रो नेतृत्व माथि कसैले प्रहार गर्छ भने राष्ट्रिय युवा संघ नेपालले कालो अरिङ्गाल जसरी खनिन जानेको छ’, उहाँले भन्नुभयो ।
नेपाली जनताको आत्मविश्वासले एमालेलाई आउने निर्वाचनमा एमालेलाई बहुमतको सरकार बनाउन कसैले रोक्न नसक्ने उहाँले दाबी गर्नुभयो । अब २०८४ को निर्वाचनमा एमालेलाई बहुमतको पार्टी बनाउने मिसनमा राष्ट्रिय युवा संघ नेपाल लागेको उहाँले बताउनुभयो ।
