• Wednesday 7th of October 2026

अस्पतालको शय्याबाट हिमाञ्चलको चिन्ता– इजरायलमा हराइरहेका विपीनको खोजी भएन!


  • धनकुटा खबर
  • .

काठमाडौ । हमासको आक्रमणबाट गम्भीर घाइते भएपछि अस्पतालमा उपचाररत गोरखाका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीको खोजी हुन नसकेको चिन्ता व्यक्त गरेका छन्।

महेन्द्रनगरका विपीन जोशी शनिबारदेखि नै बेपत्ता छन्। उनले सुरूमा साथीहरूलाई गोली लागेको अवस्था बताए पनि त्यसपछि उनी कहाँ छन् टुंगो लाग्न नसकेको विद्यार्थीहरूले जानकारी दिएका छन्।

‘नमस्ते! म हिमाञ्चल कट्टेल, म अहिले इजरायलको अस्पतालमा छु। मेरो उपचार भइरहेको छ। मेरो साथी विपीन मिसिङ छ। उसलाई खोज्ने खासै पहल भइरहेको छैनजस्तो लागिरहेको छ, मलाई। उसलाई लिएर गएको मैले देखेको थिएँ। दुई–तीनजना थाइसँगै उसलाई होस्टेज (बन्धक) बनाएर लगेको देखेको थिएँ,’ उनले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘मचाहिँ सरकारसँग के गुहार गर्न चाहन्छु भने सकेसम्म, छिटोभन्दा छिटो खोजी कार्यमा अग्रर भइदिनुहोला।’
विपीन युद्धग्रस्त गाजा क्षेत्रको सीमा क्षेत्र नजिकैबाट बन्धक बनाइएको उनले बताएका छन्।

अस्पतालको शय्यामा रहेका हिमाञ्चल अहिले खतरामुक्त छन्।

आज बिहान त्रिभुवन विमानस्थल अवतरण भएका दाङका विपीन सुवेदीले जोशीलाई छोडेर आउनुपर्दा पीडा व्यक्त गरेका छन्।

‘हामी सपना बुनेर आ’को, सपना टुटेर आउनु परेको छ ! आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपीन जोशीको खोजीको हो। हामी बाँच्यौँ तर हामी जिन्दगीभरी मरीमरी बाँच्नुपर्ने भयो। सरकार, केही त होला नि!,’ उनले भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖