• Wednesday 7th of October 2026

अभियुक्त सञ्जयलाई राखियो सिधै गोलघरमा


  • धनकुटा खबर
  • .

काठमाडौ । तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ।

गोलघरलाई कारागारभित्रको जेल भनेर बुझिन्छ। गोलघरमा राखिने कैदीबन्दीलाई अलग्गै कोठामा कडा सुरक्षा घेराभित्र राखिने केन्द्रीय कारागार प्रमुख ललितकुमार बस्नेतले बताए।

‘उनी अलि गम्भीर प्रकृतिको अपराधमा संलग्न देखिएको र सिरियल किलर पनि हुनसक्ने भएकाले अरू कैदीबन्दीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिधै गोलघर पठाइएको हो,’ उनले भने।

जिल्ला अदालतले शुक्रबार भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न सुन्धारास्थित केन्द्रीय कारागार पठाएको थियो।

काठमाडौंको तीनकुनेस्थित दिव्य काठ मिलमा भएको सामूहिक हत्याको अभियोग लागेका सञ्जयविरूद्ध सरकारी वकिल कार्यालयले शुक्रबारै मुद्दा दायर गरेको थियो। आजै उनको थुनछेक बयान र बहस सकेर जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेको हो।

सरकारी वकिल कार्यालयले सञ्जयले क्रूरतापूर्वक चार जनाको ज्यान लिएको भन्दै जीवित रहेसम्म कैद हुने गरी जन्मकैदको सजाय मागदाबी गरेको छ।

‘प्रतिवादीले मृतकहरू चार जनालाई क्रूर तथा अमानवीय तवरबाट निर्ममतापूर्वक ज्यान मारेको हुँदा मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम जीवित रहेसम्म कैद हुने गरी जन्मकैद सजाय माग‍ गरी अभियोगपत्र पेस गरिएको छ,’ अभियोगपत्रमा भनिएको छ।
सञ्जयले भदौ ३० गते श्री दिव्य स: मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए।

प्रहरीसँगको बयानमा सञ्जयले आफू नवीनको हत्या गर्न तीनकुने गएको तर हत्या गर्दै गर्दा अन्य व्यक्तिले पनि देखेपछि उनीहरूको पनि हत्या गरेको बताएका थिए। उनले केही समयअघि चाबहिलमा नवीन चढेको मोटरसाइकलले ठक्कर दिएको र नवीनले उल्टै आफूमाथि कुटपिट गरेपछि हत्या गर्ने योजना बनाएको बयान दिएका थिए।

प्रहरीले अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖