• Wednesday 7th of October 2026

सोमबार र मंगलबार पानी पर्ने, दसैँमा मौसम सफा हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । आउँदो सोमबार र मंगलबार देशभर मौसम बदली हुने पूर्वानुमान छ । ती दुई दिन देशभर छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने देखिएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “सानो प्रणाली आउँदै छ, पश्चिमी वायुको असरले सोमबार र मंगलबार वर्षा हुने देखिन्छ,” शनिबार साँझ उनले बाह्रखरीसित भनिन्, “हल्का वर्षा हुने सम्भावना छ ।”
उनका अनुसार उक्त अवधिमा देशभर बादल लाग्नेछ । काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना छ । अरू स्थानको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्नेछ । बुधबार दिउँसोदेखि मौसम खुल्दै जाने उनले बताइन् ।

“देशैभर बादल लाग्छ । वर्षाको सम्भावना पनि देशैभर छ । पश्चिमी प्रणाली भएको भएर पश्चिम क्षेत्रमा अलि धेरै वर्षा हुने देखिन्छ,” उनले भनिन्, “बुधबार दिउँसोदेखि मौसम खुल्दै जानेछ ।”

दसैँ सफा हुने
शनिबार (आज)को स्थितिबाट पूर्वानुमान गर्दा यो दसैँमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन् । दसैँमा मौसम सफा हुने उनको भनाइ छ ।

“बिहीबारपछि मौसम सफा हुनेछ,” उनले भनिन्, “अहिलेसम्मको अवस्थाबाट हेर्दा दसैँमा वर्षा हुने सम्भावना देखिँदैन ।”

मनसुन बाहिरिन अझै केही दिन लाग्ने
नेपालबाट यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रम जारी छ । औसत मितिभन्दा ढिलो गरी मनसुन बाहिरिइरहेको छ ।

देशबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने मौसमविद् मानन्धरले बताइन् । “केही दिन लाग्ने देखिन्छ,” उनले भनिन्, “मनसुन बाहिरिइसकेको अवस्था छैन ।”

शनिबार (असोज २७) गण्डकी र लुम्बिनी प्रदेशका सम्पूर्ण तथा वाग्मती र मधेस प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।

वाग्मती र मधेसका अधिकांश भूभागबाट पनि बाहिरियो मनसुन
महाशाखाका अनुसार यसअघि सुदूरपश्चिम र कर्णाली, लुम्बिनीका अधिकांश र गण्डकीका पश्चिमी भूभागबाट मनसुन बाहिरिइसकेको थियो ।
मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । नेपालबाट मनसुन बाहिरिने औसम मिति अक्टोबर २ लाई मानिएको छ । यो वर्ष एक दिन ढिलो गरी जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖