चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्य सम्पादन ‘रेड जोन’मा परेको छ । अर्थात्, उनले सूचना, प्रविधि तथा संचार मन्त्रालयमा बुझाएको कार्य योजनाको आधा प्रतिशत मात्र काम गर्न सकेका छन् ।
मन्त्रालयमा विकास बोर्डले हरेक बर्ष गर्ने कामको विवरण बुझाउनुपर्ने हुन्छ । बोर्डले बुझाएको विवरण अनुसार नै मन्त्रालयले कामको मुल्यांकन गर्ने गर्छ । विकास बोर्ड अध्यक्षले पनि गतबर्ष बोर्डमा वार्षिक कार्य योजना बुझाएका थिए । तर, उनले एक वर्षमा बुझाएको कार्य योजनाको आधा प्रतिशत काम पनि गर्न सकेनन् । जसका कारण, मन्त्रालयले बोर्डको कामलाई ‘रेड जोन’मा राखेको छ ।
विशेष गरि, राष्ट्रपति बिरामी हुँदा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सही समयमा गर्न नपाउनु, दोलखामा बन्ने भनिएको फिल्म स्टुडियो वनको विवादले समयमै सुरु गर्न नपाउनु आदि कारणले कार्य सम्पादनमा ढिलाई भएको बोर्डका एक सदस्यले जानकारी दिए ।
मन्त्रालयले अध्यक्ष केसीलाई बोलाएर कार्य सम्पादनमा ढिला सुस्ती किन भएको हो भनेर समेत सोधेको थियो । चलचित्र विकास बोर्डमा अध्यक्षको रुपमा भुवन केसी नियुक्त भएसँगै एक बर्षमा उनी विवादमा नै बढी परिरहेका छन् ।
