• Wednesday 7th of October 2026

आज बडादसैँको पहिलोदिन शैलपुत्रीको पूजा आरधना गरिँदै


  • धनकुटा खबर
  • .

आजदेखि बडादसैँ सुरु भएको छ। बडादसैँको पहिलो दिन आज भगवान दुर्गाको ९ रुपमध्येको शैलपुत्रीको पूजा आराना गरि मनाइँदै छ।

सत्ययुगमा आदिशक्ति सतीदेवीले पर्वतराज हिमालय (शैल) की पुत्री पार्वतीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा उल्लेख छ । शैलपुत्रीको दाहिने हातमा त्रिशूल, देब्रे हातमा कमल, निधारमा अर्धचन्द्र रहेको छ । नन्दी (साँढे) लाई वाहन बनाएकी उनलाई सती, पार्वती, वृषारुढा, हेमवती, भवानी आदि नामले पनि पुकारिन्छ ।आज बिहानैदेखि काठमाडौँसहित देशका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ।

साथै आज घरघरमा घटस्थापना पनि राखिँदै छ। आश्विन शुक्ल प्रतिपदादेखि बडादसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

आजको दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ। बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गर्ने गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। जसलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖