तेलअबिब । युद्धको १०औँ दिन पनि इजरायलले गाजामाथिको हवाई आक्रमणलाई निरन्तरता दिएको छ ।
हमासले अघिल्लो शनिबार इजरायलमाथि गरेको आक्रमणबाट मर्नेको संख्या १४ सय नाघेको छ भने इजरायलले गाजामाथि सुरु गरेको प्रत्याक्रमणमा मर्नेको संख्या २७ सय नाघेको छ । एक हजारभन्दा बढी मानिस गाजाका भग्नावशेषमा च्यापिएको हुन सक्ने उद्धारकर्ताहरूले बताएका छन् ।
इजरायलले कुनै पनि बेला गाजामाथि स्थल सैन्य आक्रमण सुरु गर्न सक्ने जनाइएको छ । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विदेशीलाई बाहिर निकाल्न दिन र मानवीय सहायता सामग्री भित्र आउन दिन दक्षिणी गाजामा युद्धविराम गरिने समाचारको खण्डन गरेका छन् ।
यसअघि अमेरिकी सञ्चारमाध्यमले इजिप्ट र दक्षिणी गाजाबीचको एकमात्र सीमा नाका राफा क्रसिङलाई कायरोले स्थानीय समयअनुसार बिहान ९ बजेदेखि केही घण्टाका लागि खुला गर्ने समाचार सम्प्रेषण गरेका थिए । सीमा नाका खुल्ने र इजरायलले गर्ने भनिएको स्थल सैन्य आक्रमण सुरु हुनु अगावै इजिप्ट छिर्न पाइने आशाका साथ हजारौँ मानिस सीमा नाकामा भेला भएका थिए ।
यसअघि गाजामा रहेका अमेरिकी नागरिकलाई राफा सीमा नाकातर्फ जान भनिएको थियो भने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले सो नाका गाजामा सहायता सामग्री प्रवेशका लागि खुला हुने बताएका थिए । प्यालेष्टिनी लडाकु समूह हमासले पनि दक्षिणी गाजामा युद्धविरामको खबरलाई खारेज गरेको अलजजिराले जनाएको छ ।
यसैबीच इजरायल डिफेन्स फोर्सले हमासको कब्जामा रहेका इजरायली बन्धकका सम्बन्धमा नयाँ तथ्यांक जारी गरेको छ । आइडीएफका प्रवक्ता डेनियल हेगरीले हमासले गाजामा १ सय ९९ जनालाई बन्धक बनाएको जनाएका छन् । यसअघि हिजो मात्रै इजरायली सेनाले ११५५ जनालाई बन्धक बनाइएको जनाएको थियो ।
उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन मध्यपूर्वका ६ वटा देशको भ्रमण गरी पुन इजरायल फर्किएका छन् । तेलअबिबमा रहँदा उनले फेरि एक पटक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतका नेतासँग भेट गर्ने जनाइएको छ ।
साथै उनले इजरायलमा गठित आपतकालिन सरकारमा सहभागी हुन नमानेका विपक्षी नेता याएर लेपिडसँग पनि भेटवार्ता गर्नेछन् ।
