रामेछाप । जम्मा एउटा कच्ची घर र गोठ । घर मुनि अलिकति तरकारी बारी । बाँकी रहेको बारी सबै बाँझो जङ्गल भइसक्यो । त्यही पनि सहकारीमा राखेर आफन्तले ऋण झिकेर खाएका छन् । ऋण चुक्ता गर्ने कुनै उपाय छैन ।
रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका १८ वर्षीय लेखबहादुर बसेलको काँधमा अब तीनजना नाबालक भाइहरूलाई हुर्काउने, बढाउने जिम्मा आइपरेको छ ।
आमा गीता बसेल गत वर्षको राम नवमीको दिन ४१ वर्षको उमेरमा घरमा नै झुण्डिएर आत्महत्या गरेर बित्नुभयो । बुबा भक्तबहादुर पनि यस वर्ष ४६ वर्षको उमेरमा बित्नुभयो । जण्डिसका बिरामी भक्तबहादुर मुख नबारेरै बित्नुभयो ।
एक्ली हजुरआमा छुट्टै घरमा बस्नु हुन्छ । ठुला बा र माहिला बा पहिला नै छुट् भिन्न भएर बस्नु भएको छ । अब घरमा चार भाइ छोरा मात्रै हुनुहुन्छ । जेठ लेखबहादुर १८ वर्षको, माहिलो सञ्जिप १६ वर्षको, साहिँलो सरोज १२ वर्षको र कान्छो सन्दीप आठ वर्षको ।
लेखबहादुरले पाँच कक्षा पढेर पढाई छाड्नुभयो । सञ्जिपले सात कक्षासम्म पढ्नु भयो । साहिँलो र कान्छो पाँच र तीन कक्षामा पढ्दै छन् ।
बाबुको क्रिया कर्म गरुञ्जले गाउँले दाजुभाइ जम्मा भए । घरमा टिप्ने अन्नको गेडो छैन । काज क्रिया उतार्न साथमा उनीहरूसँग एक पैसा छैन ।
गाउँमा रहेको समूहले एक÷एक सय रुपैयाँ चन्दा उठाएको छ । स्थानीय समाजसेवीले केही सहयोग गर्नुभयो । अब उनीहरूसँग न खाने कुरा छ, न पकाइ तुल्याई खान दिने मान्छे नै छन् ।
अलि हुर्किएका दुई भाइ श्रम गरेरै भने पनि ज्यान पाल्न सक्ने भए पनि साना दुई भाइको भने बिजोक छ । उनीहरूलाई कुनै संरक्षण केन्द्रले लगेर शिक्षादीक्षाको व्यवस्था मिलाइदिए जीवन बन्ने स्थानीय समाजसेवी शंकर थापा बताउनुहुन्छ । ‘यतिबेला यिनीहरुकाे बाँच्चे आधार नै छैन’, थापाले भन्नुभयाे ।
लालबहादुरको इच्छा पनि साना भाइहरूलाई राम्रो शिक्षा दिने छ । तर आफैँ के गरी जीवन अघि बढाउने लालबहादुरलाई नै थाहा छैन । यस्तो बेला कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने उहाँको चाहना छ ।
