• Sunday 4th of October 2026

म्युजिक भिडियोलाई फिल्मको परिभाषामा समेट्न आग्रह गर्दै ध्यानाकर्षण पत्र


  • धनकुटा खबर
  • .

काठमाडौं । म्युजिक भिडियोलाई पनि फिल्मको परिभाषामा समेट्न ध्यानाकर्षण गराउँदै म्युजिक भिडियो निर्देशक समाजले चलचित्र विकास बोर्डलाई पत्र बुझाएको छ ।

समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेसहितको टोलीले बोर्ड अध्यक्ष भुवन केसीलाई पत्र बुझाएको छ । पछिल्लो समय दैनिक ५० भन्दा बढी म्युजिक भिडियो निर्माण भइरहेको प्रतिभिडियो तीन लाख रुपैयाँ लगानी हुने गरेको, दैनिक डेढ करोडको लगानी र हजारौंले रोजगार पाइरहेको तथ्य पेश गर्दै फिल्मको परिभाषामा समेट्न आग्रह गरेको छ ।

दैनिक रुपमा बन्ने यस्ता म्युजिक भिडियोबाट राज्यलाई करोडौं फाइदा भइरहेको र राज्यले पनि राजस्वको ठूलो हिस्सा गुमाएको पत्रमा उल्लेख छ । बोर्डले समेट्ने क्षेत्रको परिभाषामा चल्ने चित्रलाई ‘चलचित्र’ भनिएको तर निर्माण हुने प्रक्रिया, विधि, प्रविधि, प्रयोग तथा कलाकार, प्राविधिक, निर्देशकलगायत विषय म्युजिक भिडियोमा पनि एकै किसिमको रूपमा प्रयोग हुने भए परिभाषाले विभेद गरिएको गुनासो गरिएको छ ।

म्युजिक भिडियोमार्फत जातजाति, भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै राज्यको अर्थतन्त्र, पर्यटन, रोजगारीलगायतमा मद्दत पुगेको पनि उल्लेख गरिएको छ । पत्र बुझ्दै अध्यक्ष केसीले जरुरी रहेको विषय जानकारी गराएको र आगामी बैठकमा यसबारेमा प्रस्ताव राख्ने बताए । समाजका कार्यवाहक अध्यक्ष पाण्डेले ध्यानाकर्षण पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पनि बुझाउने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖