• Sunday 4th of October 2026

गाडीमा यात्रा गर्दा बान्ता हुनेले के गर्ने?


  • धनकुटा खबर
  • .

डा.तोरण केसी
वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ
गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ? भनेर बुझ्नुभन्दा पहिला भित्री कानको बारेमा बुझ्नुपर्छ। भित्री कान मस्तिष्कको नजिक हुन्छ। यसले हाम्रो आवाजलाई मस्तिष्कसम्म पुर्‍याउँछ भने हाम्रो शरीरलाई सन्तुलित समेत बनाउँछ।

गाडीमा यात्रा गर्दा हामीले झ्यालबाट हेर्छौं। हाम्रो आँखा र कान जहाँको त्यहीँ छ तर हामीले हेरेको कुराहरू छिटो छिटो घुमेको देखिन्छ। त्यस्तो बेला हाम्रो कानले सन्तुलन मिलाउन खोज्छ तर मिलाउन सकेन भने चक्कर लाग्छ अनि उल्टी हुन्छ।

बाहिर हेर्दा रूख, घर दौडिएको देखिन्छ त्यो बेला कानले सन्तुलन मिलाउन सकेन भने बान्ता हुन्छ। जब बान्ता हुन्छ त्यसपछि चक्कर कम हुन्छ। तर शरीर शिथिल हुन्छ। खासगरी खेलकुदमा सक्रिय नभएका, कानको समस्या भएका र बढी सेन्सेटिभ व्यक्तिलाई वान्ता हुन्छ।

गाडीमा यात्रा गर्दा हल्का खाना खानुपर्छ भने सकेसम्म अगाडिको सिटमा बस्नुपर्छ अनि बाहिर हेर्न हुँदैन। अथवा आँखा मोबाइलमा केन्द्रित भयो भने पनि ध्यान बाहिर जाँदैन। हिँडेर, टाउको हल्लाएर, आँखा तलमाथि गर्ने थेरापी गर्न समेत सकिन्छ। गाडीको चालकलाई चक्कर लाग्दैन किनकि उनीहरूले अगाडि हेर्छन् भने अर्को कुरा बानी परिसकेको छ।

गाडीमा यात्रा गर्दा बान्ता रोक्नको लागि औषधी खान सकिन्छ। यसले बान्ता हुन कम गर्छ। गाडीमा यात्रा गर्दा बान्ता हुनेहरूले रक्सी, चुरोट खान हुँदैन। यद्यपि रक्सी चुरोट कसैले पनि खान हुँदैन। त्यस्तै चाँडै पच्ने खालका खाना अनि फलफूल खानुपर्छ।

(वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ तोरण केसी नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन्।)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖