• Wednesday 7th of October 2026

खाद्यले घटायो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्य


  • धनकुटा खबर
  • .

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ ।

यसैबीच पशुसेवा विभागले काठमाण्डौ उपत्यकाका ११ ठाउँमा पशु चौपायाको स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको छ । अहिलेसम्म २५ हजारको सङ्ख्यामा पशुचौपायाको स्वास्थ्य परीक्षण गरिसकेको विभागले जनाएको छ ।

विभागको टोलीले शुरुमा चौपायाको ज्वरो परीक्षण गर्ने, त्यसपछि आँखा पाकेको, झाडा पखाला, रेबिज वा अन्य कुनै पनि प्राणघातक रोग लागे वा नलागेको परीक्षण गर्ने र त्यसपछि रोगी देखिएका चौपायाको सिङमा रातो र निरोगीको सिङमा हरियो रङ लगाउने गरेको छ ।

कलङ्की खसीबजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा परीक्षण भइरहेको विभागले जनाएको छ ।

विभागले सिङमा हरियो रङ लगाइएको स्वस्थ खसीबोका मात्रै खरिद गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖