• Wednesday 7th of October 2026

१२९ दिनदेखि माइतीघरमा धर्ना,आरती साहका परिवारले मनाएनन् दसैँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । हत्या भएको भनिएकी आरती साहका परिवारले दसैँ नमनाउने भएका छन् । आरती साहको न्यायका लागि चार महिनादेखि माइतीघर मण्डलामा धर्ना बसेका उनीहरु दसैँमा पनि धर्नामै छन् । धर्नामा आरती साहका बुबा विनोद साह, आमा, दाइ, बहिनीहरु छन् ।

उनीहरु आरतीले न्याय नपाएसम्म कुनै पनि चाडपर्व नमनाउने बताउँछन् । आरतीलाई न्याय दिलाएरमात्र काठमाडौँबाट फर्किने उनीहरुको भनाइ छ ।

‘छोरीलाई हत्या गर्नेहरु खुलेआम घुमिरहेका छन्, यस्तो अवस्थामा हामी कसरी चाडपर्व मनाउन सक्छौँ ?’ आरतीका बुबा विनोद साहले भने, ‘चाडपर्व खुसीयालीका लागि मनाउँछन् तर हामी खुसी छैनौँ, अनि कसरी मनाउने चाडपर्व ? घर गए पनि दुःख मनाएरै बस्ने हो, यहाँ पनि त्यही मनाएर बसेका छौँ ।’

शरीरमा श्वास रहेसम्म न्यायका लागि लड्ने उनले बताए । आफ्नो शरीरलाई श्वासले छाडेको दिनमात्र आफूहरुले यो संघर्षलाई छाड्ने उनको भनाइ छ ।

जेठ ७ गते घर छाडेर आएका उनीहरु त्यस यता काठमाडौँमै छन् । ‘घरबाट आउँदा ढोकामा ताल्चा पनि लगाइएको छैन, अहिले पनि घर खुलै छ,’ विनोदले भने, ‘घरमा केही छैन लानका लागि, कसैले घर उठाएर लगेमात्र, हो नत्र घरमा केही छैन, त्यही भएर त्यतिकै छाडेर आएका छौँ ।’

खेतीपाती नगरिएको उनले सुनाए । ‘हाम्रालागि छोरी नै सारा सम्पत्ति थिइन्, उनीनै रहिनन् भने अरु सम्पत्तिको कुनै अर्थ रहँदैन,’ विनोद भन्छन् ।

आफूहरुले आरतीलाई न्याय नमिलेसम्म घर फर्किदैनौँ भनेर सरकारलाई पनि भनेको उनले सुनाए । ‘धर्ना बसेको आज १२९ दिन भएको छ, तर सरकारले न्याय दिनु कता हो कता, उल्टै हामीलाई पटकपटक यातना दिएको छ, पटकपटक धरपकड गरी यहाँबाट भगाउने प्रयास गरेको छ,’ उनले भने ।

जेठ ७ गते आरती साहको मृत्यु भएको थियो । आरती साह आफ्नो घर (श्रीमानको घर)मा बेहोस फेला परेपछि जनकपुरस्थित काब्य अस्पतालमा ल्याइएको थियो तर अस्पताल ल्याउँदा उनको निधन भइसकेको थियो ।

आरतीले आत्महत्या गरेकी हुन् कि हत्या भएको हो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन तर आरतीका आमा–बुबाले हत्या भएको दाबी गरेका छन् । छोरीलाई पहिलादेखि नै यातना दिइरहेको उनको आरोप छ ।

तर आरतीका ससुरा र श्रीमानले भने आरतीले आत्महत्या गरेको दाबी गर्दै आएका छन् । आरतीको मृत्युपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु केही दिन अघि साधारण तारेखमा रिहा भएका छन् ।

यो घटनाका लागि प्रहरीमा जाँदा उल्टै आफूहरुलाई यातना दिएको, कुटपिट गरेको र प्रहरीले राम्रोसँग छानबिन नगरेको विनोद बताउँछन् । त्यहाँको एसपीमाथि कारबाही र उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने आफ्नो माग रहेको र यी दुई माग पूरा नभएसम्म घर फर्केर नजाने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖