• Monday 5th of October 2026

कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला


  • धनकुटा खबर
  • .

दोहा । कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।

“कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतिक्षामा छौं ।”

परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा रहेको भन्दै सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

“हामी यो घटनालाई उच्च महत्व दिन्छौं र यसलाई नजिकबाट नियालिरहेका छौं । हामीले सबै परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गर्न जारी राख्नेछौं । हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौं,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त नहुने विदेश मन्त्रालयको भनाइ छ ।

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।

मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवाई गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेकी थिइन्। गत जुन ८ मा एक्स (ट्वीटर)मा एक पोस्ट लेख्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुद्दामा हस्तक्षेप गर्न आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖