• Monday 5th of October 2026

समाएको पर्खाल भत्किएर लडेका थिए कलाकार प्रकाश घिमिरे, आइसियुमा उपचाररत


  • धनकुटा खबर
  • .

वरिष्ठ कलाकार प्रकाश घिमिरे अहिले पोखराको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन्।
शरीरमा लागेको चोटको पीडा सहन उनलाई गाह्रो भइरहेको आफन्तले बताएका छन्।

घिमिरेका भाइ सढंग घिमिरेका अनुसार अर्धचेत अवस्थामा रहेका प्रकाशले बेलाबेला आवाज त निकाल्छन्, तर दोहोरो कुराकानी गर्न सक्दैनन्।
‘कहिलेकाहीँ ऐय्या, दुख्यो भनेर आवाज निकाल्नुहुन्छ। तर दोहोरो कुराकानी गर्न सक्ने अवस्था छैन,’ सढंगले सेतोपाटीलाई भने, ‘शरीरमा लागेको चोटको दुखाइले असह्य भएको जस्तो देखिन्छ।’

पोखरा–३ नदिपुरका स्थायी बासिन्दा प्रकाश शुक्रबार सबेरै साथी प्रेम शेरचन र गायक विनोद बानियासँग मर्निङ वाकमा गएका थिए। फर्किँदा गाईलाई कृत्रिम गर्भाधान गराउन भेटिरनरी डाक्टर बोलाएको बताएका थिए।

‘मर्निङ वाकबाट फर्किँदा प्रकाशको घरमा डाक्टर आइसकेका रहेछन्। फोन आएपछि उहाँ घर लाग्नुभयो,’ शेरचनले भने, ‘गोठको काम सकेर घाँस काट्न हाम्रो घर आउनुभयो।’

शेरचनको घर नजिकै पुगेर प्रकाश घाँस काट्न थाले।
प्रकाश आउनुअघि नै शेरचनले केही डाली घाँस काटिसकेका थिए। आफ्नो घर नजिकै ब्लकको पर्खालमा समातेर घाँस काट्दै गर्दा प्रकाश लड्न पुगेको शेरचनले बताए।

‘पर्खालमा खाली ठाउँ भर्न मात्र ब्लक लगाएको रहेछ। त्यही ब्लकमा बायाँ हातले समातेर दायाँ हातले घाँस काट्दै गर्दा पर्खाल भत्किएर उहाँ लड्नुभएछ,’ शेरचनले भने।
शेरचनका अनुसार पहराबाट प्रकाश करिब ५० मिटर तल झाडीमा खसेका थिए।

त्यतिबेला शेरचन कुखुरालाई दाना बनाउँदै थिए। प्रकाश खसेको थाहा पाउनेबित्तिकै उद्धार गरेर मणिपाल अस्पताल पुर्‍याएको शेरचनले बताए।
अस्पतालका अनुसार प्रकाशको टाउकोमा चोट लागेको छ। छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ। ढाडमा पनि चोट लागेको छ।
उनलाई थप उपचार गर्न शनिबार काठमाडौं लैजाने तयारी गरिएको परिवारले जनाएको छ।

नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्।

२०६१ सालतिर निर्देशक नवीन सुब्बा निर्देशित टेलिसिरियल ‘दलन’ मा अभिनय गरेर उनी फिल्मी क्षेत्र प्रवेश गरेका थिए।
उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘फन्को’, ‘जात्रा’, ‘पञ्चेबाजा’, ‘पानीफोटो’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन्।

प्रकाश अभिनीत चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ अहिले प्रदर्शनमा छ।

नदिपुरकै कन्या माविमा ३७ वर्ष शिक्षण गरेका प्रकाश २०७५ सालमा अवकाश लिएपछि अभिनय क्षेत्रमा क्रियाशील भएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖