• Friday 9th of October 2026

अख्तियारको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ


  • धनकुटा खबर
  • .

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्ने ३७ पर्षीय मोहन कोइराला पक्राउ परेका हुन्।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाबाट सुविधा लिँदै आएका थिए।

विगत ६ महिनादेखि नेपालगन्ज बस्दै आएका उनले ठगी धन्दा बाहेक अन्य कुनै काम वा व्यवसाय नगर्ने गरेको डिएसपी डाँगीले बताए।
‘कुनै कार्यालय वा संघसंस्थाका कर्मचारीको कमजोरी पत्ता लगाई उनीहरूसँग रकम बार्गेनिङ गरी असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी डाँगीले भने, ‘पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन बाँकी छ।’

सरकारी कार्यालयका कर्मचारी र विभिन्न संघसंस्थाका मानिसहरूलाई रकम माग्दै सताउने क्रम नरोकिएपछि अख्तियारसम्म कोइरालाको बारेमा गुनासो पुगेको थियो।

सोही गुनासोका आधारमा अख्तियारको बुटवल कार्यालय, नेपालगन्ज कार्यालय र बाँके प्रहरीको टिमले संयुक्त रूपमा कोइरालालाई बिहीबार पक्राउ गरेका थियो।

पक्राउ गर्ने क्रममा आरोपित कोइरालाले गालीगलौज गर्नुका साथै काम-कारबाहीमा अवरोध गर्न खोजेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कोइरालालाई सार्वजनिक गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖