• Thursday 8th of October 2026

सासुलाई कलेजो दान दिएर नयाँ जिवन दिने बुहारी “माया”


  • धनकुटा खबर
  • .

बुहारीले सासुलाई कलेजो दिएर नयाँ जीवन दिएकी छन्। असोज २६ गते ६२ वर्षीया सासूलाई उनकी ३७ वर्षीया बुहारीले कलेजो दान दिएकी थिइन्।

रामेछापकी एक बुहारीले आमा समान सासूलाई कलेजो दिएर जीवनदान दिएकी हुन्। ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दान दिएपछि ६२ वर्षीया सासू लाक्पा शेर्पाले नयाँ जीवन पाएकी हुन्।

भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको १२ औं दिनमै निको भएर लाक्पा शेर्पा डिस्चार्ज भइन्। रामेछाप घर भइ काठमाडौंको बौद्ध बस्दै आएकी ६२ वर्षीया लाक्पाको कलेजो प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएपछि परिवारमा सन्नाटा छायो। तर पारिवारिक सल्लाह भइरहेका बेला सासु लाक्पालाई ३७ वर्षीया बुहारी माया शेर्पाले कलेजो दिने निर्णय गरिन्।

असोज २५ गते बिहीबार बिरामी लाक्पा र कलेजो दान गर्ने बुहारी माया भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भर्ना भए। भोलिपल्ट मायाले बिरामी सासूलाई आफ्नो कलेज दान गरिन् भने चिकित्सकको टोलीले सफल प्रत्यारोपण गर्यो। केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३० सदस्यीय टोलीले कलेजको सफल प्रत्यारोपण गरेको थियो।

कलेजो दान गर्ने माया छैठौं दिनमै डिस्चाई भइन् भने विरामी लाक्पा १३ औं दिनमा बुधवार (हिजो) निको भई घर फर्किन्।

२०७३ सालमा दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण गरिएको थियो। त्यसपछि अहिलेसम्म १४ जनाको सफल कलेजो प्रत्यारोपण भइसकेको छ। कलेजो मात्र नभएर केन्द्रले ११ वर्षमा ११ सय ३७ जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ।

नेपालमा बर्सेनि १ हजार जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिएको छ। अत्यधिक मदिरासेवन, डायबेटिज, मोटोपन, हेपाटाइटिसलगायतका विभिन्न कारणले कलेजो बिग्रेर विरामी हुने गरेको तथ्याङ्क छ। चिकित्सा विज्ञानमा कलेजो प्रत्योरोपणलाई अत्यन्त जटिल मानिने गरे पनि डराएर बस्न नहुने चिकित्सक बताउँछन्।

कलेजो प्रत्यारोपण खर्चिलो भने छ। एक जनाको कलेजो प्रत्यारोपण गर्न १५ लाख रुपैयाँभन्दा बढी लाग्ने गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖