• Thursday 8th of October 2026

खाली बोतल बेचेर छोरीलाई डाक्टर बनाउने सपना बोकेकी गीता


  • धनकुटा खबर
  • .

काठमाडौँ । मान्छेका जीविकोपार्जन गर्ने अनेक तरिका हुन्छन्। कोही पढे–लेखेर सरकारी जागिर खान्छन्।

कोही व्यवसाय गर्छन् त कोही आफ्नो परिवारले गर्दै आएको कुनै विधामा संलग्न हुन्छन् त कोही वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन्छन्। अर्थात् जीविकोपार्जनका लागि केही न केही काम गरेकै हुन्छन्।

त्यस्तै एक साधारण जीविकोपार्जन गरिरहनुभएको छ गीता केसीले। काठमाडौँ भद्रकाली मन्दिरनजिकै सडकको पेटीमा बसेर प्लास्टिकको थैलोबाट हातले केही झिक्दै मुखमा हाल्दै, पानी पिउँदै गरेकी महिला देखिनुहुन्छ।

चितवन रामपुरमा जन्मिनुभएकी गीता विगत ३/४ महिना अघिदेखि काठमाडौँका केही ठाउँमा अरूले मिनिरल वाटर खाएर फालेका खाली बोतल सङ्कलन गर्दै आउनुभएको छ। १० वर्ष अगाडि उहाँ काठमाडौँ पहिलो पटक बबरमहलको एक अफिसमा भाँडा माझ्ने, सरसफाइ गर्ने काम गर्नुभयो।

‘त्यो अफिसमा मैँले ५/७ वर्ष मासिक ६ हजारमा काम गरेँ। बिहान खाना दिन्थ्यो। तलब बढाइदिन्छु भनेका थिए हाकिमले। तर,लकडाउने गर्दा सबै चौपट भयो,’ उहाँ भन्नुहुन्छ, ‘पछि लकडाउन भएको एक दुई दिन नबित्दै त्यो अफिस कता सरेछ कुनै अत्तोपत्तो भएन।’

लकडाउनका कारण भएको पैसा पनि सकिएपछि गीता भौँतारिन थाल्नुभयो। त्यसपछि पुनः कामको खोजीमा हिँड्नुभयो। काम त्यति सजिलै मिल्ने वाला थिएन। हप्ता दिनसम्मको निरन्तर प्रयासपछि एउटा काम हात लाग्यो। ‘काम त पाइयो तर महिनाको जम्मा ३ हजार मात्र दिन्थ्यो,’ उहाँ भन्नुहुन्छ, ‘काम फेरि दिनको दुई घण्टा मात्रै। म्यानपावरको अफिसमा कुचो लगाउने र हाकिमलाई दिउँसो एकपटक चिया बनाएर दिनुपर्ने थियो।’

त्यहाँ पनि त्यति राम्रो काम नभएको र पैसा पनि कम दिने भएकाले एक वर्ष काम गरेर छोड्नुभयो। त्यसपछि सुरु भयो उहाँको खाली बोतल बटुलेर जीविकोपार्जन गर्ने यात्रा।

अहिले गीता कहिले भृकुटीमण्डप, सहिद गेट, माइतीघर मण्डला, भद्रकाली मन्दिर गर्दै यात्रीहरूले पानी खाएर फालेका खाली बोतल बोरामा उठाउनुहुन्छ। ‘दैनिक ४ सयदेखि पाँच सयवटा बोतल जम्मा गर्छु। प्रतिगोटा एक रुपैयाँ दिन्छ,’ उहाँ आफ्नो कमाइबारे सुनाउनुहुन्छ।

यसो गर्दा महिनामा करिब १५ हजार कमाइ हुन्छ उहाँको। यसबाट सन्तुष्ट पनि हुनुहुन्छ। सुरु–सुरुमा अलिक लाज लाग्थ्यो। तर अहिले बानी परिसक्यो। अहिले त उक्त क्षेत्रका अधिकांश पसलेले उहाँलाई चिनिसकेका छन्। उनीहरूले पनि गीताको राम्रो बोली वचन र स्वभावका कारण खाली बोतल जम्मा गरेर बोरामा राखिदिन्छन्। यसरी खाली बोतल संलग्न गरेर आफ्नो जीविकोपार्जन गरिरहेको गीताको भनाइ छ।

गीताले दैनिकजसो खाने खाजा भनेको फुक्का चिउरा र पानी हो। ‘यत्तिको कमाउनुहुँदो रहेछ, किन निस्तो चिउरा खानुहुन्छ रु भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘जम्माजम्मी कमाएको पैसाले कोठा भाडा तिर्न र खाना खान बल्लबल्ल पुग्छ। छोरीको स्कुल फिस तिर्नुपर्छ। त्यसैले धेरै खर्च गर्न हुन्न।’

गीताको श्रीमान् गाउँमा हुनुहुन्छ । गीतासँग उहाँकी छोरी बस्नुहुन्छ । ‘बुडा गाउँमा, छोरी र म यहाँ’,उहाँले भन्नुभयो ।

२०७२ सालको भूकम्पमा परी गीताको छोराको मृत्यु भएको रहेछ। ‘शनिवारको दिन थियो। घुमफिर गरेँ भन्ने लागेर छोरा म बालाजु गएका थियौँ। बालाजुमा दिदीको घरमा गएर खाना खाएर छोरा माथि कोठामा आराम गर्ने गर्न गएको थियो। हामी दिदीबहिनी लुगा धुन लाग्यौँ। एक्कासि जमिन हल्लाएझैँ भयो। घर्याक्क गरेको आवाज सुनियो। पछाडि फर्किएर हेर्दा घरले पुरिएछ,’ उहाँले भन्नुभयो ।

आफ्ना सन्तानको माया कसलाई नलाग्ला ? त्यही मायाले भूकम्प अलि साम्य भएपछि डोजर बोलाउनुभयो गीताले। कच्ची घर पन्छाइसक्दा छोराको श्वास गइसकेको रहेछ। ‘घर ढल्नासाथ म पनि बेहोस भएछु,’ सुँक्कसुँक्क गर्दै सुनाउनुभयो, ‘पछि घर पन्छाइसकेर छोरा निकाल्दा छोराको सास थिएन। यो थाहा पाएर ममाथि आकाश खसेझैँ भयो।’

अहिले पनि मातृत्व कम भएको छैन गीताको। दिवङ्गत छोराको निकै याद आउँछ। त्यही कारण बालाजु जान पनि मन लाग्दैन उहाँलाई। बालाजु सम्झ्यो कि झसङ्ग हुन्छ। होस उडेझैँ हुन्छ। ‘दुःखै गरेर भए पनि छोरालाई डाक्टर बनाउने सपना देखेकी थिएँ,’ आफ्नो सपना भूकम्पमा पुरिएपछि गीता भावुक हुँदै सुनाउनुहुन्छ, ‘अब जुन भन्ने छोरै रहेन। सपना देखेर के काम ?’

यद्यपि गीताले हिम्मत हार्नुभएको छैन। सङ्घर्षमा जारी छ। छोराको सपना अब छोरीमाथि देख्नुभएको छ। ‘मैले छोरालाई डाक्टर बनाउन सकिनँ। तर छोरीलाई डाक्टर बनाउन सक्दो कोसिस गर्नेछु।’

बोतल जम्मा गर्ने कामले कसैको जीवन चलिरहेको र त्यहाँबाट पनि आफ्नी छोरीलाई डाक्टर बनाउने सपना देख्नुभएकी गीता भन्नुहुन्छ, ‘यो काम हेर्दा एउटा बोतल उठाउने मात्र देखिन्छ होला। तर यसबाट वातावरण पनि सफा गरिरहेका छौँ भन्ने मानिसमा चेतना पलाउँदैन। त्यही भएर अपशब्द प्रयोग गरेर अरूलाई नीच देखाउन खोज्छन्। काम जेजस्तो भए पनि त्यसको सम्मान गर्न सिक्नुपर्छ।’

गीताले हाल एउटा बोतल बेचेको एक रुपैयाँ कमाउँदै आउनुभएको छ। दसैँअगाडि पसलेले प्रतिवटा बोतलको डेढदेखि दुई रुपैयाँ गरिदिने भनेपछि उहाँमा थप ऊर्जा र खुसी थपिएको छ। आइएनएस/स्वतन्त्र समाचारको सहयोगमा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖