जनकपुरधाम/विश्वमै पहिलोपटक जनकपुरमा अन्नबाट ११ हजार स्क्वायर फिटको प्रतिमा (मूर्ति) बन्ने भएको छ । विवाह पञ्चमीको अवसरमा जनकपुरमा अन्नको मूर्ति बनाइने भएको हो ।
जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सो मूर्ति निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताए । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराई सकेको छ । जनकपुरमा त्योभन्दा ठुलो मूर्ति बनाउन लागिएको साहले बताए ।
सो मूर्ति निर्माण भएपछि वर्ल्ड रेकर्डका लागि दाबी गर्ने उनले बताए । अन्नबाट राम–सीता स्वयंवर (विवाह) को मूर्ति बनाइने निर्णय भएको साहले जानकारी दिए ।
‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ्ग प्रयोग हुने छैन । जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिन्छ’ साहले भने । सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ भने मूर्ति बनाउन प्रयोग गरिएको अन्न फेरि प्रयोगमा ल्याइने बताइएको छ ।
भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार ८ सय स्कवायर फिटको अन्नबाट मुर्ती बनाईर गिनिजबुक अफ वल्र्ड रेर्कडमा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्कवायर फिटमा सो मुर्ती बनाएर बिश्व रेकर्ड बनाउदै विवाह पञ्चमीलाई अन्तराष्ट्रिय करण गरिने जनकपुरधामका मेयर मजोज साहले बताए ।
जनकपुरधाम वडा नं. ४ बस्ने रुपेश मिश्रकी छोरी गुनगुन मिश्रले भारतिय आजतक च्यानलमा सो मुर्ती बिश्वकिर्तीमान कायम गरेको देखेर जनकपुरधाममा सो भन्दा पनि भव्य र ठुला मुर्ती बनाउनुपर्ने प्रस्तावमा भारतिय कलाकार तथा विज्ञ सतिष घुरजर सहितको टोली जनकपुरधाम आएर छलफल गरेको छ ।
पुस १ गतेदेखि सुरु हुने विवाह महोत्सवका लागि मङ्सिर २० गतेदेखि मूर्ति बनाउन सुरु हुने अध्यक्ष साहले बताए । मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने मूर्ति निर्माणका लागि ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।।
मुर्ती कस्तो बनाउने ? भन्ने विषयमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साह, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषद अध्यक्ष शितल साह, विद्वान डा. राजेन्द्र प्रसाद विमल, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी, उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका संग घुरजरले सो विषयमा छलफल गरेका छन् ।
मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ भने त्यसका लागि उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र प्रदेश सरकार लगायतको सहयोग रहने बताइएको छ ।
