• Thursday 8th of October 2026

चुनावमा दिएको १५ लाख फिर्ता नपाएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमाले सिरहाका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

एमाले सिरहाका जिल्ला कमिटी सदस्य प्रकाश महासेठले आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

सिरहाको मिर्चैया निवासी महासेठले पार्टीले आफूलाई अन्याय गरेको कारण पार्टी छाड्नु परेको स्पष्टीकरण दिएका छन्।

एमाले मिर्चैया नगर कमिटीका इन्चार्ज प्रदीप महासेठले चुनावमा आफूमाथि घात गरेको र चुनावमा खर्च गर्न दिएर बाँकी रहेको १५ लाख रुपैयाँसमेत फिर्ता नदिएको आरोप उनले लगाएका छन्।

प्रदीप महासेटसँग रहेको आफ्नो १५ लाख रुपैयाँ फिर्ताको लागि पहल गरिदिन पार्टी नेतृत्वलाई पटक पटक अनुरोध गर्दा समेत फिर्ता नभएपछि आफूले एमालेमा नबस्ने निर्णय गरेको उनले बताए।

‘मैले गएको प्रदेश सभाको निर्वाचनमा एमाले मिर्चैया नगर कमिटीका इन्चार्ज समेत रहेका प्रदीप महासेठलाई चुनावमा खर्च नभएर बचेको १५ लाख रुपैयाँ फिर्ता गर्न पटक पटक अनुरोध गरेँ। जिल्ला पार्टीमा निवेदन दिएँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘तत्कालिन जिल्ला अध्यक्ष चन्देश्वर मण्डलसहितको समितिले यस विषयमा छानविन पनि गरेको थियो। आज सम्म मैले न पैसा फिर्ता पाएँ न कुनै जवाफ नै पाएँ।’

आफूविरुद्ध चुनावमा घात गर्ने र आफ्नो रकमसमेत हिनामिना गरेका नेतालाई पार्टीले काखी च्याप्ने गरेको गुनासो उनको छ। पछिल्ला दिनमा आफूलाई पार्टीको बैठकमा समेत बोलाउन छाडेको गुनासो गर्दै उनले यस्तो अवस्थामा पार्टीमा बस्नुको औचित्य नदेखेको बताए।

२०७९ को आम निर्वाचनमा महासेठ सिरहा क्षेत्र नम्वर ४ (क) बाट नेकपा एमालेको उम्मेदवार थिए।

आफूमाथि अन्याय भएको विषयमा आफूले नेता लिलानाथ श्रेष्ठसँग कुरा गर्दा पनि न्याय नपाएको उनले बताए।

एमाले परित्याग गरे पनि तत्काल आफू कुनै पार्टीमा प्रवेश नगर्ने उनको भनाई छ। ‘तत्काल म कुनै पार्टीमा प्रवेश गर्ने निर्णमा पुगेको छैन,’ महासेठले भने, ‘स्वतन्त्र रुपमै भएपनि राजनीतिमा चाहीँ सक्रिय रहन्छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖