• Thursday 8th of October 2026

प्रिन्सिपल हत्या प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं— बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।

बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

पक्राउ पर्नेमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिका समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन ।

थप अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरिने डीएसपी न्यौपानेले बताए ।

मुख्य योजनाकारसहित ६ जना पक्राउ परेपछि यसअघि पनि स्वर्णकारको हत्याको योजना बनेको तथ्य खुलेको हो । उनीहरूले नै दोस्रो प्रयासमा स्वर्णकारको हत्या गर्न सफल भएको बयान दिएका हुन् ।

स्रोतका अनुसार प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा पनि स्वर्णकारको हत्या प्रयास गरेको बताएका छन्। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाए पनि प्रहरीलाई त्यसबारेमा प्रहरीलाई खबर नगरेको स्रोतको दाबी छ । ‘साउन २८ गते पनि उनलाई कलैयाको होटेलमा गोली हान्ने प्रयास भएको थियो तर उनी उम्केर भाग्न सफल भएका थिए ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको थियो । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

आपसी सम्बन्ध र रिसइबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖