• Monday 5th of October 2026

१३०० करोड बढ्यो शाहरूखको सम्पत्ति, संसारकै चौथो धनी अभिनेता


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान आज ५८ औं जन्मदिन मनाउँदैछन्।
यस उमेरमा पनि उनको फिल्मले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। सन् २०२३ मा शाहरूखका फिल्म ‘जवान’ र ‘पठान’ ले बक्स अफिसमा २१९६ करोड भारू कारोबार गरेको छ। यी दुवै फिल्म भारतको सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको दोस्रो र तेस्रो नम्बरमा छ। पहिलो नम्बरमा आमिर खानको ‘दंगल’ छ।

यसवर्ष शाहरूखको सम्पत्ति १३०० करोड भारू बढेको छ। अब उनी ६४११ करोड भारूका मालिक भएका छन्। गतवर्ष उनको सम्पत्ति ५११६ करोड भारू थियो। ‘जवान’ र ‘पठान’ को सफलताले उनको सम्पत्ति बढेको हो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनले यशराज प्रोडक्सनको फिल्म ‘पठान’ बाट ६० प्रतिशत नाफा सेयर र १०० करोड भारू पारिश्रमिक लिएका थिए। त्यस्तै उनले ‘जवान’ बाट पनि ६० प्रतिशत नाफा र १०० करोड भारू पारिश्रमिक लिए।

योसँगै उनी संसारकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा परेका छन्। टम क्रुज, ज्याकी च्यान र आर्नाेल्ड श्वाजनेगरलाई पछि पार्दै उनी संसारको चौथो धनी अभिनेता बनेका हुन्। शाहरूखभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन्।

उनको जीवनमा कुनै समय यस्तो आएको थियो- गरिबीका कारण उनी गैरकानूनी तरिकाले मट्टीतेल बेचे। बलिउडका किंग खान भनेर परिचित हुन उनले निकै संघर्ष गरेका छन्। उनी आफूले पनि आफूलाई हिरो बन्न लायक सम्झिँदैन थे। केही अन्तर्वार्तामा उनलाई आमाले मात्रै हिरो मान्ने बताउँदै आएका छन्।

शाहरूखलाई बाल्यकालमा खेलकुदमा रूचि थियो। उनले फुटबलमा राम्रो प्रदर्शन गरेको भन्दै विभिन्न अवार्ड समेत जितेका छन्। उनी खेलाडी बन्न चाहन्थे तर एक खेलमा उनको काँधमा चोट लागेपछि डाक्टरले उनलाई खेलकुद छाड्न सल्लाह दिएका थिए।

खेल छाडेपछि उनी दिल्लीको एक थिएटरमा आबद्ध भए। उनले सन् १९८९ मा राजकुमार कपूर निर्देशित शो ‘फौजी’ बाट अभिनय यात्रा सुरू गरेका थिए। शाहरूखले सन् १९९१ मा ‘दिवाना’ बाट बलिउड फिल्ममा डेब्यू गरेका हुन्।

सन् १९०१ देखि शाहरूखले ७८ वटा फिल्ममा अभिनय गरिसकेका छन्। सन् २०१८ मा उनको फिल्म ‘जिरो’ बक्स अफिसमा फ्लप भएको थियो। यो फिल्म फ्लप भएपछि उनले ४ वर्षपछि ‘पठान’ मार्फत कमब्याक गरेका हुन्। जसले विश्वभरबाट १०५० करोड भारू कमाएको छ।

अब उनी फिल्म ‘डंकी’ प्रदर्शनको पर्खाइमा छन्। राजकुमार हिरानीले निर्देशन गरेको फिल्म बक्स अफिसमा सफल हुने बलिउड फिल्मकर्मीको आशा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖