विराटनगर । विराटनगरको पशुपति ज्वेलर्सबाट सुन र चाँदीका गरगहना बरामद भएको छ । प्रदेश प्रहरी कार्यालय र आन्तरिक राजश्व कार्यालयले छापा मार्दा भन्सार छलेको अवैध गरगहना र सुन चाँदीका सामग्री बरामद गरेको हो ।
ज्वेलर्समा छापा हान्न पुगेका एक अधिकारीका अनुसार चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, लोहोटा, मूर्ति, टीकादानीलगायतका सामग्री एवं गरगहना बरामद भएको छ ।
विराटनगर महानगरपालिका–११ पिचरामा रहेको सो पसलमा भारतबाट भन्सार छली गरेर ल्याइएका सुन–चाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको गोप्य सूचना आएकाले ज्वेलर्समा छापा हानिएको प्रहरीले जनाएको छ ।
बरामद भएका सामग्री एवं गरगहना अन्दाजी १५ देखि २० किलो बराबरको हुनसक्ने अनुमान गरिएपनि परिणाम यकिन भइसकेको छैन ।बट्टासहितको सामग्रीले ५ वटा बोरा भरिएको र तौल लिएपछि परिणाम यकिन हुने प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई पनि पक्राउ गरिएको छ ।
जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारी, दमक, बिर्तामोडलगायत पूर्वका विभिन्न सहरमा ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार उनको ज्वलेर्सबाट सबैभन्दा बढी सुन–चाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न सुन पसलमा पुग्ने गरेको थियो ।-नेपाल प्रेस
