• Thursday 8th of October 2026

एउटै राधाको दुई प्रेमी


  • धनकुटा खबर
  • .

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन्। उनी मदरसा टोलमै बसोबास गर्छिन्। पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन्।

राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रिन्सिपल स्वर्णकार विवाहित हुन्। उनका दुई छोरा छन्। केही समयअघि स्‍वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो।

मनोज पनि राधाको प्रेमी हुन्। राधा र प्रिन्सिपल स्‍वर्णकार बीचको सम्बन्ध बाहिरिएपछि मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन्। मनोजले स्वर्णकारलाई राधाको पिछा छाड्न भनेका थिए। तर स्वर्णकार नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वर्णकारको हत्याका विभिन्न कारणबारे अनुसन्धान भइरहेको बताए। प्रेम सम्बन्ध एक कारण देखिए पनि अरू पनि कारण हुन सक्ने उनको भनाइ छ।

अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँदै उनले पत्रकार सम्मेलन गरी थप कुरा सार्वजनिक गरिने बताए। घटनामा संलग्न रहेका केही व्यक्तिलाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

एक प्रहरी अधिकृतका अनुसार हत्या गर्न भारतीय सुटरहरू समेत प्रयोग गरिएको आशंका छ। ‘शंकास्पद केही सुटरलाई नियन्त्रणमा लिएका छौं, भेरिफाइ गर्दैछौं,’ उनले भने, ‘पैसा के(कति दिएरनदिएको भन्ने बुझ्दैछौं।’

अनुसन्धानकै क्रममा प्रिन्सिपल स्वर्णकारको यसअघि पनि हत्याको प्रयास भएको पनि खुलेको छ। प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा स्वर्णकारको हत्या प्रयास गरेको बताएका छन्। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाएका थिए।

‘साउन २८ गते पनि उनलाई कलैयाको होटेलमा गोली हान्ने प्रयास भएको थियो तर उनी उम्केर भाग्न सफल भए। त्यो घटनाबारेमा प्रिन्सिपलले प्रहरीलाई खबरै गरेनन्,’ घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘घटनाको करिब अनुसन्धान सकिएको छ। घटनामा ८ जनाको संलग्नता देखिन्छ।’

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए।

स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा पोष्टमर्टम सकेपछि अन्त्येष्टि पनि गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖