• Friday 9th of October 2026

रास्वपा केन्द्रीय सदस्य थापाद्वारा ढाकाकुमार क्षेष्ठविरुद्ध मुद्दा दायर, एक रुपैयाँ क्षतिपूर्ति दाबी !


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले डा. ढाकाकुमार श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मु्द्दा दायर गरेका छन् ।

श्रेष्ठको गैरजिम्मेवार अभिव्यक्तिले आफ्नो प्रतिष्ठा र चरित्र हत्या भएको भन्दै उनले मुद्दा दायर गरेका हुन् । डा. श्रेष्ठ रास्वपाका पूर्व सांसद हुन् । मन्त्री बन्न दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो बाहिरिएपछि उनलाई रास्वपाले कारबाही गरेको थियो ।

आफूलाई सुनुवाईको मौका पनि नदिई पार्टीले कारबाही गरेको भन्दै उनले रास्वपा केन्द्रीय सदस्य थापा, सभापति रवि लामिछाने र रविकी पत्नी निकिता पौडेलको कोर टिमले पैसा मागेको खुलासा गरेका थिए ।

श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको जानकारी गराउँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्ः

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनको कारबाहीमा परी सांसद पद गुमाउनु भएका पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठले टेलिभिजनहरूमा दिएको अन्तर्वार्तामा मेरो नाम लिएर उनलाई मन्त्री बनाउने भन्दै मैले पैसा मागेको भन्दै झुटो, भ्रामक र कपोलकल्पित आरोप लगाएका थिए । मैले त्यही बेलामा भने बमोजिम म कानुनी उपचारमा गएको छु । मेरो पार्टीले यस्तो अन्तर्वार्ता सार्वजनिक हुनेबित्तिकै प्रमाणसहित आउन भनेको थियो । तर, २ महिना वितिसक्दा पनि कुनै प्रमाण पार्टीले प्राप्त गरेको छैन। उनको गैरजिम्मेवार अभिव्यक्तिले मेरो प्रतिष्ठा र चरित्र हत्या हुने किसिमको कामको विरुद्धमा प्रचलित कानुनले तोकेको ‘वाक् तथा प्रकाशन स्वतन्त्रता’ को सीमा र दायरा नागेर दिइएको उक्त अभिव्यक्ति विरुद्धमा मैले सम्मानित काठमाडौं जिल्ला अदालतमा कानुनी उपचार र निजलाई कानुन बमोजिम कारवाहीको समेत माग गरी मुद्दा दायर गरेको छु। देश बनाउने महाअभियानमा लागेको, धेरैले आश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गर्ने नियतले गरिएको यस हर्कतलाई नजरअन्दाज गर्नु भनेको जनतालाई धोका दिनु सरह हो । त्यसैले मैले यो निर्णय लिएको हुँ । व्यक्तिगत जीवनमा मेरा कमी कमजोरी हुन् सक्लान् । तर, देश बनाउने हिँडेको एक नयाँ पार्टीलाई बदनाम गरेको मलाई कति पनि सह्यय छैन। पार्टीको अनुशासन समिति, केन्द्रीय समिति तथा संसदीय दलमा उनले दिएको बयान र विवरण रेकर्डमै रहेको होला भन्ने समेत स्मरण गराउन चाहन्छु। म, अदालतबाट यस विषयमा न्याय पाउने र भ्रामक हल्ला गर्ने लाई कारबाही हुनेमा निश्चित छु। त्यसैले अदालतको फैसला नआएसम्म म पार्टीको कुनै पनि पदमा नबस्ने जानकारी गराउन चाहन्छु । ब्यक्तीगतका रुपमा मेरा कयौं कमी कमजोरी होलान तर राजनीतिक रुपमा मैले उच्च नैतिकता राख्न सक्नुपर्छ। मेरा विरुद्ध आरोप लगाउनेले प्रमाणद्वारा पुष्टि गर्न नसक्दा नसक्दै पनि, मेरो पार्टीले मलाई कुनै कारवाही गर्नु पर्ने परिस्थिति नहुदा नहुदैपनि, कहिँ कतै कासैको मनमा शंका, भ्रम नरहोस् भनेर मैले कानुनी लडाइको किनार नलागे सम्मका लागि जिम्मेवारी भन्दा बाहिर रहने निर्णय गरेको हुँ। तर, आफ्नो र आफ्नो पार्टीको मान प्रतिष्ठामा म कुनै सम्झौता गर्न नसक्ने भएर नै मैले यस्तो निर्णय लिएको छु । मेरो इज्जत र चरित्रमा पुगेको धक्का परिपुरण त कदापि हुनसक्दैन तथापि न्यायिक सन्देशका निमित्त रु. १ मात्र क्षतिपूर्तिको दावी गरी फिराद दायर गरेको छु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖