• Thursday 8th of October 2026

त्रिपाल माग्न जाँदा वडासचिव उपेन्द्रजंग शाहले ‘म त्रिपाल दिन्नँ, जहाँ मरे मर’ भन्दै हप्काएर पठाए


  • धनकुटा खबर
  • .

जाजरकोट : गत शुक्रबार राति मस्त निद्रामा रहेकी नलगाड नगरपालिका –३ का रमिता थापा दुई भूकम्प थाहा पाएसँगै छोराछोरी च्यापेर हतार–हतार घर बाहिर निस्किइन्।

बाहिर निस्किँदा गोडामा चोट लागेर सामान्य घाइते पनि भइन्। सदरमुकाम खलंगाको नयाँ बस्तीमा बस्दै आएकी उनी अहिले छोराछोरीसहित नयाँबस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँछिन्।

उनलाई अहिले पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो लाग्ने समस्या देखिएको छ। १४ वर्षीया छोरी समेत राति सुतिरहेको समयमा ‘हल्लायो ममी’ भन्दै कराउने गरेको आमा रमिता बताउँछिन्।

रमिता मात्र होइन भूकम्पले घर भत्काएपछि अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रात दिन कटाइरहेका छन्। सदरमुकाम देखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि मारमा परेका छन्।

भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा झन ठूलो समस्या छ। समयसमयमा परकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए। यो समाचार तयार पार्दासम्म ३३९ पटक यहाँ परकम्प गएको भूकम्प मापन केन्द्रको अभिलेखमा रेकर्ड भएको छ।

बालबालिका र ज्येष्ठ बढी त्रासमा भएको बोहराले बताए। तिहारमा मिठो मसिनो खाने र आफन्त एक ठाउँमा भएर भेटघाट गर्ने योजनामा रहेका सर्वसाधारण भूकम्पका कारण पीडामा परेका छन् । घरसँगै विद्यालय समेत भत्किएपछि बालबालिका थप तनावमा छन्। घर भत्किएको छ भने पढ्न जाने विद्यालय समेत भत्किएको छ।

भूकम्पले दिएको पीडा एकातिर जनप्रतिनिधि र सरकारी कर्मचारीको व्यवहारले झनै ठूलो पीडा दिएको छ।

राहतको त्रिपाल र अन्य सामग्री घरमूलीको नाममा आउने गरेपछि सदरमुकाम बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरमूली बाहेक अरुले नपाउने भनेपछि हैरानीमा परेको उनको भनाइ छ।

खुला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत माग्दा माग्दा नपाएपछि निराश भएको छ। त्यस्तै स्थानीय गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा वडासचिव उपेन्द्रजंग शाहले ‘म त्रिपाल दिन्नँ, जहाँ मरे मर’ भन्दै हप्काएर पठाएको बताए।

वडासचिवले हप्काएपछि जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाउँदा एक थान त्रिपाल पाएको उनले सुनाए। वडा कार्यालयमा राहत वितरणमा व्यापक पक्षपात भएको उनी बताउँछन्।

घर पूर्णरूपमा भत्किएर समस्यामा परेको थाप्लेका झलक मल्लको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । ‘शुरुमा क्षति भएको नामावली संकलन गर्ने वेला हाम्रो पनि टिपेको थियो’, उनले भने, ‘अहिले लिष्टमा हाम्रो नाम छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा अचम्ममा परेँ’, झलकले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖