काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।
इजलासको लिखित आदेश आउन बाँकी रहेकाले कति समयभित्रमा बहस नोट बुझाउनु पर्ने भन्ने स्पष्ट भइनसकेको सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले जानकारी दिए।
दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै फैसलाका लागि बहस सुरु हुने सम्भावना छ। सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ।
जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उक्त आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा छाड्न आदेश दिएसँगै तीन महिना थुनामा बसेर सन्दीप छुटेका थिए।
बहस नोट झिकाएसँगै अब भने अन्तिम सुनुवाइ अगाडि बढ्ने सम्भावना बढेको छ। अर्को पेसी कहिले हुने भन्ने तोक्न बाँकी छ।-न्यूज गृह
