• Friday 9th of October 2026

कुनै समयका चर्चित गुण्डा नाईके ‘रमेश बाहुन’ले दुबईबाट सुरु गरे व्यावसायिक यात्रा, उनको कम्पनीले के-के गर्छ ?


  • धनकुटा खबर
  • .

दुबई। ‘रमेश बाहुन’ भनेर चिनिने सुजन पौडेल अब व्यवसायमा गाँसिएका छन्। वैदेशिक रोजगारीको क्षेत्रमा हात हालेका उनले दुबईमा बसेर व्यवसाय चलाउनेछन्। त्यसका लागि केहीदिन अघिमात्रै दुबईमा म्यानपावर कम्पनी खोलेका छन्।

‘बाहुन डन’को परिचय बनाएका उनी केही समयअघिमात्रै जेलबाट रिहा भएका थिए। करिब ९ वर्ष २ महिना जेल जीवन बिताएपछि अब उनी व्यवसाय र समाजसेवामा जोडिने अभियानमा लागेको बताएका छन्।

‘दुबईमा अलपत्र परेका नेपालीलाई रोजगारीको लागि सजिलो हुनेगरी मैले यहीँबाट व्यवसाय थालेको हुँ’, उनले भने, ‘बेरोजगार नेपाली युवालाई विदेशमा रोजगारीका लागि हाम्रो कम्पनीले काम गर्नेछ।’

भिजिट भिसामा दुबईमा लगेर कैयौँ एजेन्टहरूले थुप्रै नेपाली युवायुवतीलाई अलपत्र पारेका छन्। त्यहाँबाट युरोप लैजाने भन्दै पछिल्लो समय त्यसरी अवैध तरिकाले दुबई जाने र लैजानेहरूको बिगबिगी बढिरहेका बेला बाहुनको यो कम्पनीले उनीहरूलाई सहजीकरण गर्नेछ।

‘यसरी नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई अलपत्र पारिएको छ। उहाँहरूको लागि उचित रोजगारीको व्यवस्थाका लागि सजिलो होस् भनेर हामीले यहाँको नियम कानुनअनुसार नै कम्पनी खोलेर काम सुरु गरेका हौँ’, उनले भने, ‘यसरी दु:ख पाएका नेपालीलाई हाम्रो कम्पनी सहयोगी बन्नेछ।’

उनको यो सुजनकुमार ह्यूमन रिरोर्सोज कम्पनीले दुबईबाटै युरोपेली देशमा रोजगारीका लागि जान चाहने नेपालीका लागि पनि सेवा दिनेछ। कम्पनी सुरु गरेसँगै उनले दुबईमा रोजगारी गरिरहेका र त्यहाँ अलपत्र परेका नेपालीका बारेमा अध्ययन पनि सुरु गरेका छन्। उनीहरूको अवस्थाका बारेमा सबै कुरा बुझेपछि कम्पनीले उद्धार र रोजगार खोजीको काम थाल्ने उनले बताए।

‘हामीले भर्खर काम सुरु गरेका छौँ। यहाँ धेरै नेपाली अलपत्र परेका छन्, धेरै नेपालीको रोजाइ पनि दुबई नै परेको छ’, उनले भने, ‘हामीले यहाँका नेपालीको अवस्था बुझिरहेका छौँ र चाँडै नै सबै कुरा पत्ता लगाएर हामीले उद्धार पनि गर्नेछौँ। अनि उहाँहरूको रोजगारीको लागि पनि सहयोग गर्नेछौँ।’

कुनैबेला नेपालमा चर्चित ‘डन’ले चिनिने उनले अब व्यावसायिक बाटो रोजेको भन्दै यसले आफूलाई र आफ्नो परिचयका साथै नेपाली युवालाई पनि मदत पुग्ने बताए।

‘नेपाली दाजुभाइ, दिदीबहिनीहरूकै लागि काम आउन सकूँ भनेर मैले यो बाटो रोजेको हुँ’, उनले भने, ‘अहिलेसम्म नेपालका म्यानपावर कम्पनीसँग सहकार्य गरेको छैन। अब चाँडै नै सबैसँग मिलेर काम गर्नेछौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖