• Monday 5th of October 2026

मरिन्छ भन्ने लाग्यो, छोराछोरी सम्झिएँ’


  • धनकुटा खबर
  • .

जाजरकोट : जाजरकोटकोे भेरी नगरपालिका–२ का ४६ वर्षीय चक्रबहादुर खड्का शुक्रबारको मध्यरात मस्त निन्द्रामा थिए । जिल्ला अदालत जाजरकोटमा कार्यालय सहयोगीको रुपमा कार्यरत उनी सदरमुकाम खलंगामा डेरामा बस्दै आएका थिए । बेलुका ९ बजे खाना खाइवरी श्रीमतीसँगै सुतेका चक्रबहादुर त्यसको तीन घण्टापछि आएको घातक कम्पनबाट भाग्यले बाँच्न सफल भए । श्रीमतीसँगै रहेका चक्रबहादुर श्रीमतीसँगै आफूलाई पनि बचाउन सफल भए ।

उनी राति ११ बजे ब्युँझिएर शौचालय गए पश्चात पुनः निदाएको घण्टा नपुग्दै अनौठो तरिकाले खाट हल्लियो । घरको भित्ता भत्किन सुरु भइसकेको थियो । ‘हामी लोग्ने स्वास्नी खाना खाएर ९ बजेतिर सुतेका थियौं, ११ बजेतिर ब्युँझिएर पिसाव फेर्न शौचालय गएँ, फेरि सुतेर भर्खर निदाएको थिएँ, पूरै घर खाट हल्लिएपछि ब्युँझिएँ, घरको भित्ता ढल्ल सुरु भइसकेको थियो,’ उनले भने, ‘खाटमुनि गए बाँचिन्छ भन्ने सुनेको कुरा झट्ट याद आयो, श्रीमतीलाई पनि खाटमुनि नै तानेर लिएँ, घरको भित्ता पूरै ढलेर खाटमै पर्‍यो हामीलाई पनि छातीसम्म पुर्‍यो, श्वास फेर्न कठिन भइरहेको थियो, अब मरिन्छ भन्ने लाग्यो । छोराछोरी सम्झिएँ, त्यसपछि घर भत्किन बन्द भयो, विस्तारै हातले भित्ताका ढुंगाहरू हटाएँ, पहिले म निक्लिएँ त्यसपछि श्रीमतीलाई तानेँ, मर्न नलेखेका हामी भाग्यले बाच्यौं ।’

यस्तै सोही घातक कम्पनमा परी भेरी नगरपालिका–३, थाप्ले कि ४० वर्षीया लक्ष्मी शाह पनि बाँच्न सफल भइन् । शाह श्रीमानसँगै थिइन् । अर्को कोठामा छोरा सुतेका थिए । ‘गहिरो निन्द्रामा थियौं, मैले भुइँचालोले घर भत्किएर हामीलाई पुरिसकेपछि मात्र थाह पाएँ, बचाउ–बचाउ भनेर श्रीमान् कराइरहेको आवाज मेरो कानमा परेपछि बल्ल भूकम्प गएको रहेछ अनुमान लगाएँ, अब मरिने भयो भने आफन्त सबैलाई सम्झिएँ, बत्ती पनि थिएन, भाडामा बस्ने छिमेकीहरू आएर उद्धार गरेपछि बाँच्न सफल भयौं’, शाहले भनिन् ।

यस्तै, भेरी नगरपालिका–१, रावतगाउँ कि २२ वर्षीया सर्मिला विक ९ बजेतिर खाना खाएर चार वर्षका छोरासहित सुतेकी थिइन् । गहिरो निन्द्रामा सुतेकी सर्मिलाले ब्युँझिदा भने साथमा सुतेको छोरा गुमाइन् । ‘एक्कासी घर हल्लिएर ढल्यो, छोरा कता गयो ठम्याउनै सकिनँ, सासुआमा पनि पुरिनुभएछ, ससुरा बा ढोकामा उभिएकाले त्यति चोट लागेन, छिमेकीले मलाई बाहिर निकाल्नुभयो, छोराको मृत्यु भइसकेको रहेछ, अनयासै छोरा गुमाउनु पर्दा नबाँचेका भए हुन्थ्यो भन्ने लागिरहेको छ,’ सर्मिलाले भनिन् ।

भेरी नगरपालिका–३ तल्लो थाप्लेका २१ वर्षीय चेतन विक पनि भाग्यले बाँचेका छन् । ‘म मस्त निन्द्रामा थिएँ, एक्कासी पूरै शरीर हल्लियो, घर हल्लायो त्यसपछि झर्‍यामझुरुम गर्दै घर ढल्यो,’ उनले भने, ‘हामी सबै परिवार घरमा पुरियौं । मेरो शरीरको आधा भाग पुरेको थियो, म बेहोस भएछु, होस खुलेपछि मात्र थाहा भयो हाम्रो परिवार अस्पतालमा रहेछ, भाग्यले हामी सबैलाई केही भएन ।’

उल्लेखित पात्रहरू शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पमा परी भाग्यले आफूलाई बचाउन सफल पात्रहरू हुन् । जिल्लाको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र विन्दु भएर गएको भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाले ज्यान गुमाए, सयौँ घरहरू ढले, ठूलो संख्यामा मानिसहरू घाइते भए । त्यो कठिन परिस्थितिका बाबजुद आफूलाई बचाउन सफल भएका सयौंले घरसँगै परिवार गुमाएका छन् । उनीहरूको पीडा न सुनी साध्य छ नत लेखि नै । silapatra

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖