• Friday 9th of October 2026

म पुग्दा ज्वाइँको परान थिएन, फागुनमा विवाह गरेको १ वर्ष पुग्दै थियो


  • धनकुटा खबर
  • .

१९ वर्ष नहुँदै जमुना बुढामगर प्रेममा परिन्। जाजरकोट जिल्लाको नलगाड नगरपालिका– ६ जमुनाले गत वर्ष फागुनमा नवीन बुढा मगरसँग विवाह गरेकी थिइन्।

उनीहरूको प्रेममा परिवार बाधक बनेन। परिवारकै सहमतिमा उनीहरूले विवाह पनि गरे।

विवाहलगत्तै गर्भ रह्यो। कलिलै उमेरमा आमा बन्न लाग्दा जमुनाको अनुहारमा अपूर्व खुसी छाएको थियो।

परिवारको नयाँ सदस्यका रूपमा भित्रन लागेको अनुहार कस्तो होला? बाबुको अनुहारसँग मिल्दो होला या आफ्नोसँग? यावत् कल्पनामा उनी हराउन लागेकी थिइन्।

शुक्रबार राति उनको सपनामा डँडेलो लाग्यो। जाजरकोट रामीडाँडा केन्द्र गरी आएको ६.४ म्याग्नेच्युडको भूकम्पले उनको सुन्दर संसार खण्डहर बनाइदियो। भग्नावशेष तुल्याइदियो।

भूकम्पमा जमुनाले पति नवीन बुढामगरलाई सदाका लागि गुमाइन्। पेटमा हुर्कंदै गरेको ८ महिनाको शिशु पनि भूकम्पले निमोठेर लग्यो।

जीवनको खुसी भूकम्पले एक झट्कामा स्वाहा बनाइदिएपछि उनी बिलखबन्दको अवस्थामा छिन्।

अनेक सपना सँगालेर सँगै सुतिरहेका जुमना र नवीनको त्यो सुन्दर जोडीलाई भूकम्पको झट्काका कारण आफ्नै घर खनिएर छोपेको थियो।

भूकम्पको झट्काका कारण उनका पति ढुंगा र माटाको थुप्रोभित्र छोपिएका थिए। आधा घन्टापछि उनको उद्धार त भयो। तर, त्यतिञ्जेल उनको प्राण उडिसकेको थियो।

त्यसपछि स्थानीयले जमुनालाई सम्झिए र खोजी गर्न थाले। केही बेरको मेहनतपछि जमुनालाई पनि उद्धारमा खटिएकाले फेला पारे। जमुना अर्धचेत अवस्थामा थिइन्।

रूकुम पश्चिमको सानी भेरी गाउँपालिका– ९ मा जुमनाको माइती हो। घर र माइतीलाई भेरी नदीले छुट्याउँछ।

जमुनाका बुवा भागिराम खड्का बुढा दौडिएर छोरीको अवस्था बुझ्न गए ।

‘म पुग्दा छोरीको घरको नाम निशाना थिएन, ज्वाइँको परान थिएन भन्ने थियो र छोरी मुर्छित थिइ,’ बुवा भागिरामले विलौना गर्दै सुनाए।

त्यतिखेर भागिरामले कान्छी छोरी जमुनालाई कसरी अस्पताल पुर्‍याउने भन्नेबाहेक अरू केही सोचेनन्। सबैसँग अनुनयविनय गरे।

एउटा बोलेरो गाडी उकालो चढ्दै गरेको देखे। हात जोडेर छोरीको अवस्था बताए। दस हजारमा त्यो गाडी बुक गरे।

तर, बाटो कहाँ थियो र! भूकम्पका कारण ठाउँठाउँमा सडक अवरूद्ध थियो। भागिरामले वडाध्यक्षलाई फोन गरीगरी गुहार मागे।

नेपाली सेना, प्रहरी र जेसिबीको सहायताले बाटाको अवरोध पछाउँदै अघि बढे। चार घन्टाको यात्रापछि बल्ल एउटा स्वास्थ्य चौकीमा भागिरामले छोरीलाई पुर्‍याउन सके। त्यहाँबाट अटो रिक्सामा हालेर अगाडि बढे।

स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले गर्भवती जमुनाको उपचार सम्भव नरहेको र तत्काल बाहिर लैजान सल्लाह दिए।

त्यसपछि उनीहरूको होसहवास उड्यो। छोरीलाई बचाउन सकिँदैन कि क्या हो भन्ने ठानेर खंग्रङ्ग भए भागिराम। आमा पवित्रा खड्का बुढा पनि आत्तिइरहेकी थिइन्।

तैपनि हारगुहार गर्नु र भगवान पुकार्नु बाहेक जमुनाका बुवाआमा लगायत अन्य त्यहाँ उपस्थित कसैसँग पनि कुनै उपाय थिएन।

गर्भवती जमुनाको अबस्थाबारे जनप्रतिनिधिले तुरून्तै चासो दिए। यथाशक्य उपाय लगाउन थाले। केही समयपछि नेपाली सेनाको हेलिकप्टर आएर जमुनाको उद्धार गरेको भागिरामले बताए।

भागिरामका अनुसार जमुना जुम्ल्याहा मध्येकी कान्छी छोरी हुन्। उनकी दिदी गंगाको भने विवाह भएको छैन।
जमुनाले प्लस टू उत्तिर्ण गरेकी छन्।

‘मेरी छोरी जमुना जति ज्वाइँको पढाइ हुनुहुन्थेन र पनि छोरीको प्रेमको बाधक बन्नुहुन्न भनेर हामीले कुनै अवरोध गरेनौं,’ भागिरामले फोनमा भने, ‘भाग्य खोटो भनौं कि के, आज यो दशा देख्नुपर्‍यो!’

भागिरामका ६ छोरी र एकजना छोरा छन्। काइँली छोरीको पनि डेढ वर्षअघि अचानक मृत्यु भएको उनले पीडा पोखे।

जमुना शनिबार साढे १२ बजे नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो। घर भत्किएर उनको पेटमाथि बज्रिएको रहेछ! त्यही चोटका कारण उनको पेटभित्र हुर्किंदै गरेको शिशुको मृत्यु भइसकेको कुरा चिकित्सकले बताइदिए।

एकातिर श्रीमान गुमाउनुको पीडा छँदै छ, अर्कोतिर पेटको शिशु पनि नरहेपछि जमुना मर्माहत् बन्न पुगिन्। उनका बाबुआमाको पनि आँखा थामिएनन्।

तै पनि नियतिलाई स्वीकार्नुबाहेक उनीहरूसँग कुनै विकल्प छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖