• Friday 9th of October 2026

श्रीमान् दीपकले कतारको भिसा पठाउन नमान्दा श्रीदेवीसहित छोरा-छोरीको हत्या


  • धनकुटा खबर
  • .

मुगुमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले घटनाको १४ दिनपछि सार्वजनिक गरेको छ । मुगुको छायानाथरारा नगरपालिका–६, मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठमहिने छोरा रहरको गत कात्तिक ८ गते हत्या भएको थियो ।

शव भने प्रहरीले कात्तिक १० गते फेला पारेको हो । हत्या आरोपमा पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् ।

उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।

शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम ढकालले बताए । प्रहरीका अनुसार बोहराले हत्याको योजना बनाएका थिए ।

मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटी मृतकसँग १०/१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए ।

कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज मुगु पुगेका थिए । कात्तिक ७ गते हत्यामा आरोपित दुई जना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए । ८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाएर हत्या गरेका थिए । उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए । मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए ।

घटनापछि कात्तिक ९ गते गोर्खराज शाही मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर सुर्खेततर्फ बसमा भागेका प्रहरीको अनुसन्धानको क्रममा खुलेको डीआईजी ढकालले बताए ।

घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश केनाईन शाखा खटिएका थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल पनि घटनास्थल मुगुमै खटिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖