बीबीसी । सन् १९८० को दशकमा माइकल ज्याक्सनले लगाएका कारण धेरैमाझ परिचित एउटा छालाको ज्याकेट तीन लाख अमेरिकी डलर अर्थात् करिब चार करोड नेपाली रुपैयाँमा बिक्री भएको छ ।
कालो र सेतो रङ्गको देखिने उक्त ज्याकेट लगाएर हाल दिवङ्गत भइसकेका गायक पेप्सीको विज्ञापनमा देखिएका थिए । उनको निधनको कैयौँ वर्षपछि लिलामीमा राखिएको उक्त ज्याकेट तीन करोड देखि साढे छ करोड नेपाली रुपैयाँ बराबरको रकममा बिक्री हुने ठानिएको थियो ।
लन्डनमा शुक्रवार लिलामीमा राखिएका २०० भन्दा बढी साङ्गीतिक क्षेत्रका यादगार बस्तुहरूमध्येमा यो ज्याकेट पनि थियो । माइकल ज्याक्सन सहित गायक डेभिड बोवी, ओएसिस एन्ड द बिटल्स लगायतका साङ्गीतिक समूहसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएको थियो ।
ज्याक्सनले उक्त ज्याकेट लगाएर चिसो पेयका लागि आफू संलग्न पहिलो विज्ञापनमा सन् १९८४ मा देखिएका थिए । उक्त विज्ञापनका लागि अभिनय गर्ने क्रममा उनको कपालमा साँच्चिकै आगो सल्किएका कारण त्यो धेरैको स्मरणमा छ । उनले त्यसबेला लगाएको ज्याकेट भिन्न पनि देखिएको थियो ।
माइकल ज्याक्सनले अमेरिकी गायक अरिथा फ्राङ्कलिनसँग पहिलो पटक सँगै गाएको गीतको भिडिओमा ला रोका ज्याकेट लगाएका थिए । उक्त ज्याकेट डेढ करोड अमेरिकी डलरमा बिक्री भएको थियो ।
महँगोका बिक्री भएको अर्को बस्तु ब्रिटिश गायिका एमी वाइनहाउसले सन् २००७ मा आफ्नो अन्तिम म्युजिक भिडिओमा प्रयोग गरेको कृत्रिम कपाल पनि हो । उक्त कपाल तीस लाख भन्दा बढीमा बिक्री भएको थियो । एल्भीस प्रेस्ली, क्विन एन्ड जोनी मारसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएका थिए ।
माइकल ज्याक्सनसँग सम्बन्धित अन्य स्मरणीय सामग्रीहरू यसअघि पनि बिक्रीमा राखिएका थिए । उनको चर्चित मुनवाक नृत्यमा पहिलो पटक सन् १९८३ मा लगाएको कालो ह्याट पनि एक करोड नेपाली रुपैयाँ भन्दा बढीमा बिक्री भएको थियो ।
