भरतपुर महानगरकी मेयर रेणु दाहालको तस्बिरलाई चरित्र हत्या गर्ने उद्देश्यले इडिट गरेर फेसबुकमा राख्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिकाका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा छन् । उनीहरूलाई प्रहरीले गएराती उनीहरूकै निवासबाट पक्राउ गरेको हो ।
रवि लामिछानेले नेतृत्व गरेको रास्वपाका स्थानीय नेतासमेत रहेको उनीहरूले निरन्तर फेसबुकमार्फत मेयर दाहाल लगायतका फरक पार्टीमा आस्था राख्ने महिलाको चरित्र हत्या गरेको आरोप छ । मंगलबार मात्रै शर्माले आफ्नो फेसबुकमार्फत मेयर भरतपुरकी मेयर रेणु दाहालसँग स्थानीय युट्युबर सन्तोष देउजाको फोटोसँग मादक पदार्थ सेवन गर्दै गरेको जस्तो फोटो बनाएर चरित्र हत्या हुने आशयको पोष्ट गरेका थिए ।
शर्माले पोष्ट गरेको उक्त फोटोलाई देवकोटाले समेत शेयर गरेकाले उनीहरू दुवैजनालाई पक्राउ गरिएको चितवन प्रहरीको भनाई छ । पक्राउ परेका शर्मा र देवकोटाको कसुरका आधारमा साइबर क्राईम आकर्षित हुने भएकाले सोही बमोजिमको कारबाही प्रक्रिया थाल्ने प्रहरीले जनाएको छ ।
यद्यपि दाहालको फोटोमा जोडिएका देउजाले उजुरी गरेका आधारमा पक्राउ परेका उनीहरूलाई मेयर दाहालले भने माफी दिएर छुटाउन खोजेको बुझिएको छ ।
