• Friday 9th of October 2026

नेपाल आइपुग्यो भारतले दिएको १५ वटा मुर्रा राँगा


  • धनकुटा खबर
  • .

भारतले नेपाललाई दिने भनेको १५ वटा मुर्रा राँगा स्वदेश आइपुगेको छ।
बुधबार साँझ नेपालगञ्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने बताएको थियो। सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो।

अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच-पाँच वटाको दरले बाड्ने मन्त्रालयले निर्णय गरेको लहान पशु प्रजनन केन्द्रका प्रमुख शिवनाथ महतोले बताए।

‘मन्त्रालयको निर्णयअनुसार यहाँबाट हामी भोलि आफ्नो भागमा परेको राँगा लैजान्छौं,’ उनले भने, ‘सरकारले रैथाने भैंसीहरूको नश्ल सुधार गर्ने र दुध उत्पादन पनि बढाउने भन्दै २०७३ सालमै मुर्रा राँगा ल्याउन पहल सुरू गरेको थियो।’

यस्तै, पशु विज्ञहरूका अनुसार उच्च नश्लका मुर्रा भैंसीहरूले रैथाने भैंसीभन्दा दोब्बर परिणाममा दुध दिने बताउँछन्। सोही कारण सरकारले रैथाने भैंसीहरूमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउन पहल गरेको थियो।

सामान्तया साढे तीन वर्ष पुगेका मुर्रा राँगाहरू वीर्य उत्पादनका लागि तयार हुन्छ। तर अहिले नेपाल ल्याइएका प्राय राँगाहरू साढे दुईदेखि तीन वर्ष बीचको रहेकाले वीर्य उत्पादन गर्न केहि समय लाग्ने महतो बताउँछन्।

‘अब हामी यी राँगाहरूलाई सम्बन्धित प्रजनन केन्द्रमा लगेर उमेर जाँच गर्छौं,’ उनले भने, ‘वीर्य उत्पादन गर्ने उमेर पुगेकोलाई तालिम दिएर बीउ निकाल्ने र राम्रो वीर्य उत्पादन हुन थालेपछि प्रशोधन गरेर किसानलाई वितरण गर्न थाल्छौं।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖