• Tuesday 6th of October 2026

नयाँ म्यानेजरका रूपमा डी जर्बीलाई भित्र्याउने रियलको तयारी


  • धनकुटा खबर
  • .

मड्रिड । वर्तमान म्यानेजर कार्लो एन्चेलोटीको उत्तराधिकारीका रूपमा क्लबमा भित्र्याउन रियल मड्रिडले ब्राइटनका म्यानेजर रोबार्टो डी जर्बीसँग सम्पर्क अघि बढाएको बताइएको छ । स्पोर्टका अनुसार लस ब्लाङ्कोसले डी जर्बीलाई एन्चेलोटीको उपयुक्त उत्तराधिकारीका रूपमा पहिचान गरेको हो ।

अर्को सिजन एन्चेलोटीले रियलको नेतृत्व छाडेर ब्राजिलको राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने चर्चा छ । उता डी जर्बीले ब्राइटनलाई प्रिमियर लिगको शीर्ष ६ को दाबेदार टोली बनाएकोमा धेरैले प्रशंसा गरिरहेका छन् ।

समाचारमा दुई पक्षबिच सुरुवाती चरणको वार्ता सम्पन्न भएको छ र डी जर्बी पनि आफ्नो करियरमा नयाँ पाइला चाल्न तयार रहेका छन् । डी जर्बीले युवा खेलाडीहरूको विकास गरेको इतिहासले पनि रियलले उनीमाथि चासो देखाएको बताइएको छ । स्पेनिस महारथीसँग हाल भिनिसियस जुनियर, रोड्रिगो, एडवार्डो, कामाभिंगा, औरेलियन टुअमानी, जुड बेलिङह्याम, आर्डा गुलेरजस्ता विश्व स्तरीय युवा खेलाडीहरू छन् ।

यसअघि म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि आफू डी जर्बीको प्रशंसक रहेको बताएका थिए । सिटीमा आफ्नो उत्तराधिकारी उनी बन्न सक्ने उनको भनाई थियो । आफूले डी जर्बीको रणनीतिमाथि ध्यान दिइरहेको र त्यसबाट सिक्ने प्रयास गरिरहेको ग्वार्डिओलाले बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖