• Monday 5th of October 2026

अरिजित सिंह नेपाल आए, गीत गाउन पाएनन्!


  • धनकुटा खबर
  • .

कलाकारहरू कति भाग्यमानी! गीत गायो, नाच्यो, कविता लेख्यो, कथा लेख्यो, अभिनय गर्‍यो, चित्र बनायो, पैसा कमायो!
जागिर छैन, जीवन छ।
जिन्दगीमा सबभन्दा सुन्दर संयोग के हो र आखिर! जे आफ्नो सबैभन्दा मनपर्ने काम हो, त्यही नै आफ्नो कर्म हुनु।
यस्तै सोच्थेँ म।

अस्ति मेरो भ्रम तोडियो। अरिजित सिंहलाई देखेर। कलाकारको पनि जागिर हुने रहेछ — अटोग्राफ दिने जागिर।
मंसिर ९ गते नेपालमा अरिजित सिंहको भव्य कन्सर्ट भयो। अरिजित सिंह गायक हुन्। यो सायदै भनिरहनुपर्ने कुरा होला। अझ उनकै लागि हजारौं रूपैयाँ तिरेर कन्सर्टमा पुगेका मान्छेलाई थाहा दिनुपर्ने कुरा त झन् बिल्कुलै होइन।

तर त्यो साँझ यस्तो देखियो, अरिजितको गीत मुखाग्र भएका मान्छेलाई पनि सायद थाहा रहेनछ — अरिजित सिंह गायक हुन्!
ती सबैलाई अरिजितभन्दा उनको जागिरसँग आशक्ति रहेछ। उनको अटोग्राफसँग आशक्ति रहेछ।

त्यसैले त उनले गाउँदा गाउँदै रोकिएर मुखै फोरेर भन्नुपर्‍यो — म गायक हुँ, मलाई गाउन दिनु भए खुसी हुन्थेँ।
एक समयपछि त दृश्य यस्तो देखियो, मानौं उनी गायक होइनन्, कुनै कार्यालयका जागिरदार हुन्। जसको गायक बन्ने सपना अधुरै रह्यो अनि अहिले उनी गीत गाउँदै कागजका पानाहरूमा हस्ताक्षर गर्दै बसिरहेका छन्।
मानौं उनी कुनै कपडा पसलको कामदार हुन्, जसको गायक बन्ने सपना अधुरै रह्यो अनि अहिले उनी गीत गाउँदै कपडामा हस्ताक्षरको बुट्टा भर्दै बसेका छन्।

कार्यालयको जागिरदार हुनु, कपडा पसलको कामदार हुनु आफैंमा सुन्दर कुरा हो। तर जो जे होइन, त्यो बन्न पर्नु सुन्दर होइन। यो संसारमा यदि सबभन्दा कुरूप केही छ भने यही हो — आफू जे होइन, त्यो बन्न पर्नु।

अरिजित बारम्बार भन्दै थिए, ‘मलाई यसरी अटोग्राफ दिन, फोटो खिचाउन फिटिक्कै मनपर्दैन।’
माइकबाट बोलिरहेका थिए उनी। नसुन्ने कोही थिएन। म लगभग अन्तिमतिर बसेकी मान्छेले त सुनेँ, उनको छेवैमा बसेर हात छोइरहेकाहरूले नसुन्ने त कुरै थिएन। तर उनीहरूले सुनेनन्। जे आफूलाई सहज हुन्छ, छानीछानी त्यही मात्रै सुन्ने बानी जो लागेको छ हामीलाई।
एउटै मान्छेलाई हात जोडेर, लगातार लगभग दस पटक जति भन्नुपर्‍यो अरिजितले, ‘मलाई १५ मिनेट मात्रै गाउन दिनु न बिन्ती!’
गीतलाई पूजा गर्ने एउटा मान्छेले आफूलाई सुन्न आएका हजारौं मान्छेलाई साक्षी राखेर कुनै आलापको फेर पकडेर जहाँ पुग्न सक्छ, त्यहाँ पुग्न मन थियो सायद उनलाई। तर उनी त्यहाँ पुग्न पाएनन्। मन्दिरै मन्दिरको सहरमा आएर अरिजित सिंह संगीतको ईश्वरसम्म पुग्न पाएनन्।
सायद हामीलाई ईश्वरभन्दा बढी मन्दिरसँग लगाव छ। हामीलाई गाउने मान्छेको गीतभन्दा बढी ‘उसले छोएको सामान मसँग छ’ भन्ने घमन्डसँग लगाव छ।

हो, अटोग्राफ माग्नु आफूलाई मनपर्ने सेलिब्रेटीप्रति झुकाव दर्शाउने माध्यम नै हो। जसरी गुलाफ माध्यम हो, आफूलाई मनपर्ने मान्छेप्रति प्रेम दर्शाउने। तर गुलाफ प्रेमको प्रतीक हो भन्दैमा, आफ्नो प्रेमीलाई गुलाफको सुगन्धसँग एलर्जी छ भन्ने थाहा पाइपाइ गुलाफ दिन्छ र कसैले?
थाहा नहुँदै दिनु अलग कुरा। तर थाहा भएपछि पनि ‘होइन, गुलाफ त प्रेमको प्रतीक हो, यसले तँलाई हानि नै किन नगरोस्, म त गुलाफ नै दिन्छु’ भन्दै ढिपी गर्दै कसैले प्रेमीको जिउभरि गुलाफ रगडिदियो भने, के त्यो प्रेम हो?

प्रेम त नितान्त व्यक्तिगत हुन्छ नि होइन? आफ्नो मनपर्ने मान्छेलाई जे मनपर्छ, जे चाहिएको छ, त्यो दिनु प्रेम होइन र?
यदि हिजो अरिजित यो पूण्यभूमिमा आएर गाउँदा गाउँदै ईश्वर स्पर्शसम्म पुगेको भए, कति अगाध प्रेम बोकेर फर्किन्थे होलान्?
अटोग्राफ किन चाहिन्छ? घर आएर हेर्न? वा आफ्नो साथीसँग ‘हेर्, मसँग यति ठूलो मान्छेको अटोग्राफ छ’ भनेर शान दिन?
तर यो कस्तो शान हो? जसको नाममा शान दिन खोजेको हो, उसलाई बेखुसी बनाएर लिएको शान शान हुन्छ कि शरम?

हिजो सोच्दै थिएँ म — पहिलो चरणमा मैले पनि अटोग्राफ लिएकी भए, अनि बल्ल अरिजितले आफ्ना लागि अटोग्राफ कति निरश, निरर्थक कुरा हो भनेर भनेका भए, म कति ग्लानी महसुस गर्थेँ होला!
सायद अटोग्राफ लिएको पाना बाटैमा फालेर घर फर्किन्थेँ। नत्र हरेकपल्ट त्यो अटोग्राफ हेर्दा पछुतोले ढ्यांग्रो हान्दै सम्झाइरहन्थ्यो — यो तैंले तेरो प्रिय मान्छेलाई दुखाएर पाएको सम्पति हो!
आफ्नो मनपरेको मान्छेलाई प्रत्यक्ष हेर्नु, छुनु पनि कन्सर्टको प्रयोजनमध्ये एक नै होला। अटोग्राफ दिनेका लागि पनि लिनेका लागि जत्तिकै प्यारो अनुभूति हुँदा त्यही नै मुख्य प्रयोजन होला। तर दिनेलाई मननपर्ने जागिरजस्तो लाग्दा?

फेरि कन्सर्ट आफैंमा एउटा जीवन पनि त हो। जीवनको प्रयोजन त हेर्नुभन्दा बढी देख्नु होइन र?
गायकलाई छुनुभन्दा बढी उसको गीत छोएर जीवनलाई प्रत्यक्ष देख्नु; कविलाई अँगाल्नुभन्दा बढी उसको कविता अँगालेर जीवनलाई प्रत्यक्ष देख्नु; चित्रकारको अनुहारको रङ नहेरी उसको क्यानभासमा आँखा पोखेर जीवन देख्नु!
सम्मान पाउनेलाई जे पाउँदा सम्मानजस्तो लाग्छ, त्यो दिए पो सम्मान! गायकको पाउ त गीतमा हुन्छ, त्यहाँ शिर राखे पो सम्मान!
कन्सर्टपछि कसैले ट्विटरमा लेखेको थियो — आफूलाई त्यति असहज हुँदा पनि फ्यानको खुसीका लागि अटोग्राफ दिँदै गीत गाइरहे अरिजितले, कति दयालु उनी!

सधैं यही त गर्छौं हामी। आमालाई खुब दुखाउँछौं अनि भन्छौं, ‘देवीजस्ती कति सहनशील तिमी!’
प्रेमिकालाई खुब रूवाउँछौं अनि भन्छौं, ‘कति बुझ्झकी, कसरी यति महान तिमी?’

कलाकारलाई मनलाग्दी दुःख दिन्छौं अनि भन्छौं, ‘यति हुँदा पनि नझर्किने, कति दयालु उनी!’
जबजब मान्छेलाई आफू स्वार्थी रहेछु भनेर स्वीकार गर्न सकस पर्छ, तब ऊ अरूलाई महान बनाउन सुरू गर्छ।
हामी नेपालीले कहिल्यै नछाड्ने एउटा किचकिच छ — पैसा छैन, ठूलो कन्सर्ट हुँदैन, राम्रो साउन्ड सिस्टम छैन, नेपालको कला जुन तहमा पुग्नपर्थ्यो, त्यहाँ पुगेकै छैन।

गुनासो गरिरहन्छौं — कलाकार छैनन् , सेलेब्रेटी मात्र छन्।
तर सायद हामीलाई चाहिएकै त्यत्ति हो — सेलेब्रेटी।
सायद हामी अहिले त्यतिका लागि मात्र तयार छौं। महँगो न महँगो टिकट काटेर अरिजितलाई हेर्न जान हाम्रो गोजी त सक्षम भयो, पैसा त कमाएकै रहेछौं हामीले, तर श्रद्धाले उनलाई सुन्न हाम्रो मन र कानले अझै थुप्रो कमाउन बाँकी रहेछ।

र, जबसम्म हामीले त्यति कमाउँदैनौं तबसम्म हाम्रो कला यसरी नै इतिहासको पुच्छरमा झुन्डिएरै बसिरहन्छ। हाम्रो गर्व अरिजितले ओढेको झन्डामा सुरू भएर त्यहीँ नै सकिन्छ।
तीन घन्टा मुस्कुराउँदै गाए अरिजितले। दुखेसो पनि मुस्कुराउँदै गरे।
‘खुब सम्मान गर्छु, त्यसैले अटोग्राफ चाहियो’ भन्दै कुनै ‘फ्यान’ ले लगाइरहेको पसिना गनाउने गन्जीसमेत उतारेर फ्याँकिदियो।
देखेर म भक्कानिएँ, अरिजित झोंक्किएनन्। दुखेसो गरे पनि अन्तिमसम्म अटोग्राफ दिँदै गाइरहे।

र, अन्तिममा भने — I wish I could have sung more and sign less.
अर्थात् — मैले अटोग्राफ दिनुभन्दा बढी गाउन पाएको भए!
गाउनकै लागि कोही मान्छे त्यति टाढाबाट आयो, तीन घन्टाभन्दा बढी लगातार गीत गायो तर पनि गाउन पाएको महसुस गरेन। किन?
किनकी हाम्रो गीत ‘सुन्ने’ बानी छैन। हामी कि गीतमा नाच्छौं, कि गीत हेर्छौं, कि गीत गाउनेलाई हेर्छौं। हेर्दाहेर्दै बिर्सिसक्यौं कि गीत सुन्ने कुरा थियो। शब्द महसुस गर्ने कुरा थिए। सुनाउनुको अर्थ तब मात्र रहन्छ जब सुनाउनेलाई सुन्ने मान्छेले सुनेजस्तो लाग्छ।
सुन्न जाने जे कुरा सुन हुन सक्छ, नजान्दा त्यही शून्य!
हामीले त जीवनभरको अनुभव पायौं, कोही फ्यान निराश भएनन्। केहीबेर फ्यानबाट टाढा गएर पियानो बजाउँदै गाए उनले। त्यो दस मिनेटमा कानले जीवनभरलाई पुग्ने खुसी पाए।

‘अरिजित सिंह कन्सर्ट’ हाम्रो लागि त सफल भयो, तर अरिजित स्वयंका लागि सफल भएन।
एउटा ईश्वरले चुनेको जादुगर गायक हामीकहाँ आयो र मन तृप्त हुन्जेल गाउन नपाएको थकथक बोकेर गयो।
दिनेले त्यति मात्र दिन सक्छ जति लिनेको ऊर्जा छ। दिने चाहने अरिजित सिंह होओऊन् या मेनुका पौडेल।

अहिले मेनुकाले ह्वात्तै नेपाली वाह वाह पाएको भए पनि हामी धेरैलाई अझै उनको स्वरसँग प्रेम छैन। श्रेया घोषालले उनीप्रति श्रद्धा अर्पण गरेपछि, रणवीर कपुरले उनको पाउ छोएपछि, अब उनको नामसँग जुन घमन्ड जोडियो, त्यो घमन्डसँग प्रेम छ।
तर एउटा कलाकार विस्तार हुन प्रेम चाहिन्छ, उसको नामसँगको जोडिएको घमन्ड होइन।

कन्सर्ट त अझै धेरै होलान्। मेनुका पौडेल नेपाल आएपछि पनि एउटा भव्य कन्सर्ट हुन्छ होला। कुनै दिन त आउला नि यस्तो जहाँ कुनै गायकलाई तीन घन्टा गाएर फर्किँदा गाउन नपाएको दुखेसो नहोस्। जहाँ कन्सर्ट आयोजकका लागि मात्र होइन, संगीतका लागि पनि भव्य होस्।
त्यो दिन ल्याउन के गर्ने त?
सामान्य छ — जसरी गीत गाउनेले घाँटीको रियाज गर्छन्, अहिलेलाई हामी पनि कानको रियाज सुरू गरौं।
सुन्न सिकौं न ल!

यसो सम्झिऔं न, हाम्रो संस्कारमा भन्नेलाई फूलको माला दिँदा, सुन्नेलाई चाहिँ सुनको माला यत्तिकै त दिइएको होइन होला!
सुन्न सिकौं न ल!
-सृजना पोख्रेल/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖