• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

स्पा सेन्टरमा यौन धन्दा


  • धनकुटा खबर
  • .

काठमाडौंमा स्पा सेन्टरमा काम दिने भन्दै यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले संखुवासभा घर भई काठमाडौं महानगरपालिका-९ रातोपुलमा स्पा सेन्टर सञ्चालन गर्ने ४३ वर्षीय दिनेश पौडेललाई पक्राउ गरेको हो।

प्रहरीले सञ्चालक पौडेललाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

उनले आफ्नो ‘नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टर’ मा काम गर्ने किशोरी र युवतीहरूलाई जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले दुई नाबालिका र एक युवतीको उद्धार गरेको एसपी पंगेनीले बताए।

पंगेनीका अनुसार पौडेलले विशेषगरी आर्थिक रूपले कमजोर भएका, ग्रामीण भेगमा बस्ने, कम पढे-लेखेका युवतीहरूलाई आकर्षक तलब सुविधा दिने भन्दै स्पा सेन्टरमा काम गर्न बोलाउने गरेका थिए।

‘उनले काठमाडौंको रातोपुल, एयरपोर्ट नजिकै दुइटा स्पा सेन्टर चलाएका छन्। ती उद्धार गरिएका युवतीहरूलाई आलोपालो मिलाएर तीन वटा स्पामा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ एसपी पंगेनीले भने।

जबरजस्ती ग्राहकसँग शारीरिक सम्पर्क राख्न बाध्य गरेको र भनेको नमानेमा अश्लील क्रियाकलाप गरेको फोटो-भिडिओ आफूसँग भएको भन्दै सार्वजनिक गरिदिने धम्की समेत दिने गरेको खुलेको छ। यसरी पौडेलले आफूलाई आर्थिक लाभ हुने गरी जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको प्रहरीले जनाएको छ।

प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖