• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

भाइटीकामा उनेको मखमली माला नओइलिँदै विपीन घर फर्किदियोस्…


  • धनकुटा खबर
  • .

हमास र इजरायलबीच युद्धविरामका कारण त्यो क्षेत्र अहिले केही शान्त छ। इजरायलभन्दा निकै पर नेपालको कञ्चनपुरमा विपीनका आफन्तको मनमा भने ‘भयानक युद्ध’ चलिरहेको छ। ‘रातदिन छोराको चिन्ताले सताएको छ,’ विपीनका बुबा महानन्द जोशीले भने, ‘अन्योलको समय झनै डरलाग्दो हुँदो रहेछ।’ हमासको आक्रमणमा छोरा बन्धक बनेको समाचारसँगै हरेक क्षण रुँदै गुजारेको यो परिवारले पछिल्लो चार दिन थप संकटपूर्ण रहेको सुनायो।

‘एकएक पल रिहाइको आशाले गुज्रिरहेको छ,’ उनले भने, ‘रिहाइको आशामा सबैका आँखाबाट आँसु बगिरहेको छ।’ विपीन बन्धकमा परेको खबरसँगै आमा पद्मा र कक्षा ११ मा अध्ययनरत बहिनी पुष्पाको आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेको उनले सुनाए। ‘उनीहरूलाई सम्झाउन खोज्दा म आफैं रुन पुग्छु,’ उनले भने, ‘चार दिनको युद्धविराम टुट्ने डरले झनै त्रसित बनाएको छ।’ विपीनकी बहिनी पुष्पाले तिहारको भाइटीकाका लागि भन्दै मखमली मालासमेत उनेर राखेको उनले सुनाइन्। ‘दाइ आएपछि माला लगाइदिने भनेर उसले मखमली उनेर राखेकी छे,’ महानन्दले भने, ‘उसको आशा नओइलाउँदै छोरा आइदिए हुन्थ्यो।’

छोरा बन्धकमा परेको खबरसँगै आमा पद्मा पनि निकै शोकमा रहेको महानन्दले बताए। प्राथमिक विद्यालयकी शिक्षक रहेकी पद्मा दुःख भुल्न विद्यालय गए पनि निराश भएर फर्कने गरेको उनले सुनाए। ‘कक्षामा पढाउँदा पढाउँदै रुने गरेकी छे,’ उनले भने, ‘उसका आँखा कहिल्यै ओभाएका छैनन्।’ हमास इजरायल युद्धविराममा भएको बन्धक रिहाइको क्रम बढेसँगै बेपत्ता रहेका नेपाली नागरिक विपीन जोशीको रिहाइको आशा परिवारमा बढेको हो।

गत असोज २० (अक्टोबर ७) मा हमासले इजरायलमाथि आक्रमण गरेदेखि नै बेपत्ता विपीनको खोजीमा सरकार पनि दिनरात लागिपरेको छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विपीनबारे इजरायली सेनाले बताएसँगै उनको रिहाइका लागि विभिन्न पक्षसँग कुराकानी भइरहेको बताइन्। युद्धकै दिनदेखि सम्पर्कविहीन विपीन हमासको नियन्त्रणमा रहेको हुन सक्ने इजरायलले दाबी गरेपछि उनको नेपाल फर्किने आशा बढेको बताइन्। नागरिकसँग कुराकानी गर्दै उनले इजरायली सेनाले विपीनका बारेमा बताएसँगै उनको रिहाइका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतार र इजरायलसँग पनि कुराकानी भइरहेको बताइन्।

हमासले पहिलो चरणमा बालबालिका र वृद्धवृद्धालाई रिहा गर्ने बताएको हुँदा अर्को चरणमा विपीन छुट्न सक्ने सम्भावना रहेको बताइन्। उनले पहिलो चरणमा चार दिनका लागि युद्धविराम लागु हुने भएको र अर्को चरणको युद्धविराम भएसँगै विपीन नेपाल फर्किन सक्ने सम्भावना रहेको पनि बताइन्।

युद्धविरामको समय थप त गरिएको छ। तर, अर्को चरणको युद्धविराम कहिलेबाट लागु हुन्छ भन्ने विषयमा हालसम्म कुनै जानकारी भने दिइएको छैन। यही अन्योलका कारण विपीनको परिवार थप दुःखी भएको हो। ‘हामीलाई फेरि युद्ध होला भन्ने डरले सताइरहेको छ,’ उनले भने, ‘छोराको रिहाइसम्म युद्धविराम भइदिए हुन्थ्यो।’ आफ्नो छोरा रोजीरोटीका लागि इजरायल गएको भन्दै उसको कुनै पक्षसँग पनि दुस्मनी नभएको सुनाए। ‘निर्दोष व्यक्तिको रिहाइका लागि ढिला नगर्दिए हुन्थ्यो,’ उनले भने, ‘हामीलाई जति सक्दो चाँडो छोरा फिर्ता चाहिएको छ।’

हमास र इजरायलबीच युद्ध विरामका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारका सहायक विदेशमन्त्री सुल्तान विन साद अल–मुरैखीसँग गम्भीर छलफल भएको प्रवक्ता लम्सालले बताइन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २३ वर्षीय विपीन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत गत भदौमा इजरायल गएका थिए। उनीसँगै गएका ४९ जना विद्यार्थीमध्ये १० हमास आक्रमणमा मारिएका थिए।

गत मंसिर ३ गते इजरायली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) मा भिडियो सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्यमा दुईमध्ये एक नेपाली रहेको आइडिएफले भनेको थियो।

आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपीन हुन्। ‘त्यो खबरले परिवारमा थप आशा पलाएको हो,’ विपीनका बुबा महानन्दले भने, ‘युद्धविराम सकिँदै जाँदा थप चिन्तित बनाएको छ।’-उपेन्द्र लामिछाने/नागरिक न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖