वीरगञ्ज । वीरगञ्जको पिपरास्थि नृसिंह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि चक्कु प्रहार भएको हो ।
विद्यालयको कक्षा १० मा अध्ययनरत एक १६ वर्षीय विद्यार्थीमाथि सोही विद्यालयमा अध्ययनरत अर्का १५ वर्षीय विद्यार्थीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) धर्मजंङ थिङका अनुसार विद्यालयमा छुट्टी भएपछि घर जाने क्रममा लिङ्क रोडमा मङ्गलवार बिहान ११ बजेको समयमा चक्कु प्रहार भएको थियो ।
कालिकामाई गाउँपालिका स्थायी घर भएका १६ वर्षीय बालकलाई त्यसपछि उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्याइएको थियो । प्रहरीका अनुसार अध्ययनको सिलसिलामा उनी वीरगञ्जको श्रीपुरमा बस्दै आएका छन् । चक्कु प्रहार गर्ने १५ वर्षीय विद्यार्थी भने सखुवा प्रसौनी गाउँपालिका घर भई हाल वीरगञ्जको राधेमाईमा बस्दै आएका छन् ।
पुरानो रिसइवीका कारण चक्कु प्रहार भएको इन्स्पेक्टर थिङले बताए । चक्कु प्रहार गर्ने र घाइते विद्यार्थीबिच लामो समयदेखि कुनै विषयलाई लिएर विवाद चल्दै आएको थिङको भनाई छ । सोही विवादका कारण चक्कु प्रहार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।
चक्कु प्रहार गर्ने विद्यार्थीलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।-यात्राडेली
