• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

श्रीमान् दुई वर्षदेखि सम्पर्कविहीन, सीता अस्पतालमा मृत्युसँग संघर्ष गर्दै !


  • धनकुटा खबर
  • .

काठमाडौँ – म्याग्दीको धवलागिरी गाउँपालिका १, गुर्जाकी सीता भुसाल विकले उपचारका लागि सहयोगको याचना गरेकी छन्। रगत संक्रमण फैलिएपछि मिर्गौला तथा कलेजोमा खराबी तथा जन्डिसबाट पीडित रहेकी सीता बेनी अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छन्।

पति ढकबहादुर विकले पत्नी र छोराछोरी छाडेर विगत दुई वर्षदेखि सम्पर्कविहीन भएपछि बेनी बजारको एक होटलमा काम गर्दै आएकी सीता अचानक बिरामी भएपछि बेनी अस्पतालमा भर्ना भएकी छन्।

‘पतिले छाडेर भागे। छोराछोरीको बिचल्ली भएको छ । थप उपचारका लागि रकम पनि छैन’, सीताले भनिन्। उनले छोराछोरीका लागि पनि बाँच्नुपर्ने भएकाले उपचारमा सहयोगको अपिलसमेत गरिन्। पति बेपत्ता भएपछि छोराछोरीको जन्मदर्तासमेत हुन सकेको छैन।

बेनी अस्पतालको बेडमा जीवनमरणको अवस्थामा रहेकी सीतालाई तत्काल थप उपचारका लागि रिफर गर्नुपर्ने अवस्था रहेको मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले बताए। ‘उहाँको अवस्था जटिल छ। रगतको संक्रमणले भित्र असर गरिसकेको छ, ‘आर्थिक अवस्था नाजुक रहेछ। निःशुल्कबाहेक पनि अन्य खर्च जुटाउनुपर्ने अवस्था छ’, डा. पोख्रेलले भने।

पीडित सीताको स्वास्थ्य अवस्था सुधार हुन धेरै समय लाग्ने भनेकाले रकम जुटाउनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ। पीडित सीताकी आफन्त पममायाँ विकले देवरले छाडेर भागेपछि नियमित उपचारमा सहयोग गर्नेसमेत नभएको बताइन्। ‘छोरछोरीका लागि पनि उनी बाँच्नुपर्छ, सानो सहयोगले उपचारमा सहयोग पुग्छ’, पममायाँले भनिन्।

बिहान–बेलुकी हातमुख जोड्नसमेत धौधौ भएकी सीताको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संस्थाका चिकित्सक सल्लाहकार डा. गोविन्द पोख्रेलमार्फत पाँच हजार सहयोग गरेको छ भने थप सहयोग अभियानमा समेत सघाउने प्रतिबद्धता जनाएको छ।

यसअगाडि गत वर्षको चैत महिनामा ३४ वर्षीया सीताको नागरिकता, विवाह दर्ता र तीन सन्तानको जन्मदर्ता गर्न गाउँपालिकाको कार्यालयसम्म पुग्न इन्सेकले जिल्ला प्रशासन कार्यालय, म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल तथा धौलागिरी गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालमार्फत पाँच हजार हस्तान्तरण गरेको थियो।

वडाध्यक्ष छन्त्यालले बेपत्ता पतिको खोजी कार्य भइरहेको बताए। पति बेपत्ता भएपछि सीताले उपचारका लागि सहयोगको याचना गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖