• Thursday 8th of October 2026

पाकिस्तानसँग ७ विकेटले हार्‍यो नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ मंसिर । यूएईमा आजबाट सुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग् ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २७ ओभरमा केवल ३ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि साद वैजले ५० तथा अजान अविसले ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मह्मद जिसनले २० रन थपे । बलिङतर्फ नेपालका गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए ।

पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरेका थिए। गुल्सनले नै दोस्रो विकेट लिने क्रममा पाकिस्तानका शाहजइब खानलाई १५ रनमा दिपेश कँडेलबाट क्याच गराए।

यसअघि यूएईस्थित ओभर क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको नेपालले उत्तम थापामगरको अर्धशतकमा ४८ ओभरमा अलआउट हुँदै १५२ रन जोडेको थियो । उत्तमले ६७ बलमा ५१ रन जोड्दा दीपेश कँडेलले ३१ रन बनाएर आउट भएका थिए। उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। कडेँलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।

त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।

बलिङतर्फ पाकिस्तानका मोहम्मद जेसनले धातक बलिङ गरे । ९।२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १९ रनमात्र दिएर ६ विकेट चट्काए । त्यस्तै अमिर हसनले २ तथा अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖